आश्विन सङ्क्रान्तिका दिन आज भगवान् विश्वकर्माको पूजा आराधना गरिँदैछ । विशेषगरी कालिगड, शिल्पकार, मजदूर तथा विभिन्न कलकारखानामा काम गर्नेहरूले विश्वकर्मालाई शिल्प, वास्तु र प्रविधिका देवताका रूपमा श्रद्धापूर्वक पूजा गर्ने परम्परा छ।
यस अवसरमा देशभरका कलकारखाना, ग्यारेज, उद्योग तथा उत्पादनस्थललाई विशेष रूपमा सजाएर विश्वकर्माको मूर्ति वा तस्वीर स्थापना गरी विधिपूर्वक पूजा गरिन्छ। औजार, मेसिन, इन्जिन तथा यातायातका साधनसमेत पूजा गर्ने चलन छ। धार्मिक विश्वासअनुसार विश्वकर्माको पूजा गर्दा औजार तथा उपकरण लामो समयसम्म टिक्ने, कामका क्रममा कम बिग्रने र कार्यमा सफलता प्राप्त हुने विश्वास गरिन्छ।
पूजाका लागि बालुवा तथा अन्य सामग्रीबाट बनाइएको विश्वकर्माको मूर्ति स्थापना गर्ने र पूजापछि नदी, ताल वा अन्य जलाशयमा विधिपूर्वक सेलाउने परम्परा छ। नेपालका विभिन्न स्थानमा आज पूजा गरी भोलिपल्ट मूर्ति विसर्जन गर्ने गरिन्छ।
धर्मशास्त्रका अनुसार द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा भेद द्वारका निर्माण गरी कृष्णलाई सुरक्षित राखेको धार्मिक विश्वास छ। एकै रातमा समुद्रको बीचमा द्वारका निर्माण गरेको मान्यताका कारण विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा सम्मान गर्दै पूजा गर्ने परम्परा सुरु भएको विश्वास गरिन्छ।
प्राचीन भारतवर्षमा चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिने धार्मिक मान्यता छ। विश्वकर्माले निर्माण गरेको भनिने भेद द्वारका अहिले भारतको गुजरात राज्यको समुद्री क्षेत्रमा रहेको विश्वास गरिन्छ।
विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रूपमा समेत लिइन्छ। वास्तुशास्त्रीका अनुसार विश्वकर्मा प्रकाश नामक वास्तुशास्त्रीय ग्रन्थ विश्वकर्मासँग सम्बन्धित रहेको विश्वास गरिन्छ। यही मान्यताका आधारमा वास्तुविद्हरूले आजको दिनलाई वास्तु दिवसका रूपमा समेत मनाउने गरेका छन्।
विश्वकर्मा हिन्दू धार्मिक परम्परामा देवताहरूका शिल्प विशेषज्ञ, भवन निर्माता, हतियारका शिल्पकार तथा विभिन्न यान र उपकरणका रचयिता एवम् निर्माता मानिन्छन्। शास्त्रीय मान्यताअनुसार उनी ब्रह्माका पुत्र हुन्। उनका पाँच छोरा र एक छोरी रहेको धार्मिक ग्रन्थहरूमा उल्लेख पाइन्छ। उनकी छोरी सन्ध्याको विवाह सूर्यदेवसँग भएको मान्यता छ।
विश्वकर्मा पूजाका दिन यातायातका साधनसमेत पूजा गर्ने परम्परा रहेकाले कतिपय स्थानमा सवारीसाधन तथा सार्वजनिक यातायातको नियमित सञ्चालन प्रभावित हुनसक्ने गर्दछ।