वीरगञ्ज महानगरपालिकाले ग्रामीण क्षेत्रलाई बजारसँग जोड्ने लक्ष्यसहित कालोपत्रे सडक निर्माणमा तीव्रता दिएको छ। यसै क्रममा महानगर प्रमुख राजेशमान सिंहले मंगलबार तीन वटै वडामा निर्माणाधीन र सम्पन्न सडकहरूको स्थलगत निरीक्षण गरेका छन्।
महानगर–२७ स्थित उदयपुर घुर्मीमा निर्माणाधीन सडकमा हाल अतिक्रमण हटाउने कार्य र बेस निर्माण तीव्र गतिमा भइरहेको छ। निरीक्षणका क्रममा प्रमुख सिंहले निर्माणको गुणस्तरमा कुनै सम्झौता नहुने भन्दै समयमै कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।
त्यसैगरी, वडा नं. २१ परवानीपुरको पटेल नगरतर्फ जाने मुख्य सडक निर्माणमा देखिएको अवरोध हटाएर हाल निर्माण कार्य धमाधम अघि बढिरहेको जानकारी पनि उनले निरीक्षणपछि दिएका छन्।
यसका साथै, वडा नं. १४ सानो पिप्रा बौद्धिमाईमा सम्पन्न कालोपत्रे सडकको पनि सिंहले अनुगमन गरेका छन्।
सडक निरीक्षणका क्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, वडा नं. २७ का अध्यक्ष हृदयनारायण प्रसाद कुर्मी, स्थानीय बासिन्दा तथा सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो। स्थानीयले सडक निर्माणले आवागमन सहज बनाएको र यसले आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्याउने अपेक्षा व्यक्त गरेका छन्।
वीरगञ्ज महानगरपालिकाले सडक, ढल, खानेपानी लगायत आधारभूत पूर्वाधारलाई प्राथमिकतामा राखी हरेक वडामा तीव्ररूपमा काम अघि बढाएको जनाएको छ।