भारतीय क्रिकेटमा नयाँ युगको सुरुवात भएको छ। युवा ओपनर शुभमन गिललाई भारतीय टेस्ट टिमको कप्तान नियुक्त गरिएको छ। भारतीय पुरुष क्रिकेट टोलीका प्रमुख चयनकर्ता अजीत आगरकरले शनिबार आगामी इङ्ल्यान्ड भ्रमणको लागि पाँच टेस्ट खेलको टोली घोषणा गर्दै गिललाई कप्तान बनाइएको जानकारी दिएका हुन्। विकेटकीपर–ब्याट्सम्यान ऋषभ पन्त उपकप्तानको भूमिकामा रहनेछन्।
पूर्व कप्तान रोहित शर्मा, विराट कोहली र रविचन्द्रन अश्विनले टेस्ट क्रिकेटबाट सन्यास लिएपछि गिललाई कप्तान बनाइएको हो। कप्तानीका लागि अनुभवी जसप्रीत बुमराहलाई पनि चर्चा गरिएको थियो तर उनी पाँचवटै टेस्ट खेल्न नसक्ने भएकाले कप्तानीमा विचार गरिएको छैन। आगरकरका अनुसार बुमराहको कार्यभार व्यवस्थापनका कारण उनलाई कप्तान नबनाउने निर्णय गरिएको हो।
२५ वर्ष २५८ दिनको उमेरमा कप्तान बनेका गिल भारतका लागि टेस्ट क्रिकेटमा कप्तानी गर्ने पाँचौं कान्छा खेलाडी बनेका छन्। उनीभन्दा अघि मन्सुर अली खान पतौडी (२१ वर्ष ७७ दिन), सचिन तेन्दुलकर (२३ वर्ष १६९ दिन), कपिल देव (२४ वर्ष ४८ दिन) र रवि शास्त्री (२५ वर्ष २२९ दिन) रहेका छन्।
शुभमन गिलले घरेलु क्रिकेटमा सीमित अनुभव भए पनि आईपीएलमा गुजरात टाइटन्सको कप्तानको रूपमा प्रभावशाली प्रदर्शन गर्दै टिमलाई प्लेअफसम्म पुर्याएका थिए।
आगामी टेस्ट शृंखला जुन २० मा लिड्सस्थित हेडिङ्ले मैदानमा सुरु हुनेछ। बाँकी टेस्ट खेलहरू क्रमशः एजबास्टन, लर्ड्स, ओल्ड ट्राफोर्ड र ओभलमा आयोजना हुनेछ।
भारतको १८ सदस्यीय टिमः
शुभमन गिल (कप्तान), ऋषभ पन्त (उपकप्तान तथा विकेटकिपर), यशस्वी जैसवाल, केएल राहुल, साई सुदर्शन, अभिमन्यु ईश्वरन, करुण नायर, नितिश रेड्डी, रविन्द्र जडेजा, ध्रुव जुरेल (विकेटकिपर), वासिङ्टन सुन्दर, शार्दुल ठाकुर, जसप्रीत बुमराह, मोहम्मद सिराज, प्रसिद्ध कृष्णा, आकाश दीप, अर्शदीप सिंह, कुलदीप यादव।
यस टोलीमा साई सुदर्शन र अर्शदीप सिंहले पहिलोपटक टेस्ट टोलीमा स्थान बनाएका छन् भने करुण नायर र शार्दुल ठाकुरको पुनरागमन भएको छ। मोहम्मद शमी, सरफराज खान, हर्षित राणा र देवदत्त पडिक्कल भने यसपटक टोलीमा छैनन्। शमी पछिल्लो साताको मेडिकल परीक्षणमा फिट नठहरिएपछि टोलीबाट बाहिर परेका हुन्।
टोलीमा नितिश रेड्डी, वासिङ्टन सुन्दर, र शार्दुल ठाकुरजस्ता अष्टपक्षीय खेलाडी समावेश गरिएको छ भने स्पिन विभागमा कुलदीप यादव एक्लो फ्रन्टलाइन स्पिनरको रूपमा फर्किएका छन्।
अजीत आगरकरले गिललाई कप्तान बनाउने निर्णय टिमको भावी नेतृत्वलाई ध्यानमा राखेर गरिएको उल्लेख गर्दै भने, "हामीले अघिल्लो वर्षदेखि नै शुभमनलाई दीर्घकालीन योजना अनुसार कप्तानीको दृष्टिले हेर्दै आएका थियौं। उनले टी–२० मा राम्रो सुधार देखाएका छन् र टेस्ट नेतृत्वमा पनि उनले राम्रो काम गर्ने आशा छ।"