वीरगञ्ज महानगरपालिका वडा नं. २१ स्थित गिभ नेपाल सामाजिक संस्थाको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम वीरगञ्ज–२१ मा अवस्थित होटल कुमु प्यालेसमा आयोजना गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि रूपमा सहभागी वीरगञ्ज महानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष राधाकृष्ण रौनियारले रिबन काटी संस्थाको औपचारिक उद्घाटन गर्नुभयो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष रौनियारले समाजमा व्याप्त विकृति, महिला हिंसा, शिक्षा तथा खेलकुदजस्ता महत्वपूर्ण क्षेत्रमा गिभ नेपाल संस्थासँग हातेमालो गरेर काम गर्न आफू सधैं तयार रहेको बताउनुभयो।
कार्यक्रममा पूर्व वडा अध्यक्ष हबीब मियाले संस्थाको भविष्य उज्यालो रहेको उल्लेख गर्दै आफू जुनसुकै अवस्थामा भए पनि सधैं सहयोग गर्न तत्पर रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो। त्यस्तै, परवानीपुर गाउँपालिका वडा नं. ४ का पूर्व वडा अध्यक्ष गजेन्द्र पटेलले युवाहरूको अग्रसरतामा खुलेको संस्थाले समाजमा आमूल परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गर्नुभयो। साथै, उनले सबैले संस्थासँग सहकार्य गर्नुपर्ने आवश्यकता पनि औंल्याए।

उक्त अवसरमा अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी तथा प्रशिक्षक महमद वेश शेख, ठाराब क्याम्पसका सभापति राज यादव, सञ्चारकर्मी निलम पन्त, गिभ नेपाल सामाजिक संस्थाकी उपाध्यक्ष सिमरन कुमारीलगायत संस्थाका सम्पूर्ण सदस्यहरूको उपस्थिति रहेको थियो।
शुशिल कुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, महिला तथा बालबालिका सशक्तिकरण र विपन्न समुदायको सेवा गर्न प्रतिबद्ध गिभ नेपाल संस्थाको सकारात्मक यात्रा सुरु भएको घोषणा गर्यो। संस्थाले अब औपचारिक रूपमा समाज परिवर्तनका लागि क्रियाशील हुने उद्घोष गर्दै कार्यक्रम समापन गरिएको थियो।
