नेपालमा कुष्ठरोगका बिरामीमध्ये सबैभन्दा बढी मधेश प्रदेशमा फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार मधेश प्रदेशमा कुल कुष्ठरोगीको एकतिहाइभन्दा बढी रहेका छन्।
काठमाडौँमा सुरु भएको कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा मन्त्रालयका सचिव डा. विकास देवकोटाले उक्त तथ्यांक प्रस्तुत गर्दै मधेश, लुम्बिनी र कोशी प्रदेशमा क्रमशः कुष्ठरोगको भार उच्च रहेको जानकारी दिए। उनका अनुसार, मधेशमा सबैभन्दा धेरै नयाँ बिरामी फेला परेका छन्।
आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्म देशभर नयाँ फेला परेका दुई हजार चार सय ७२ कुष्ठरोगीमध्ये महिलाको संख्या एक हजार ४२ छ भने १४ वर्षमुनिका बिरामीको संख्या एक सय ३६ रहेको छ।
डा. देवकोटाका अनुसार, पहिचान गरिएका सबै बिरामी हाल उपचाररत छन्। तथ्यांक अनुसार, राष्ट्रिय स्तरमा कुष्ठरोगको प्रकोप दर ०.९२ प्रतिशत रहेको छ, जुन प्रति १० हजार जनसंख्यामा एकभन्दा कम बिरामी रहेको अवस्थालाई जनाउँछ।
तर जिल्लागत विवरण हेर्दा ७७ मध्ये १८ जिल्लामा प्रकोप दर एकभन्दा माथि, ४८ जिल्लामा एकभन्दा कम र ११ जिल्लामा कुनै नयाँ बिरामी फेला परेका छैनन्।
कुष्ठरोग निवारणका लागि प्रकोप दर एकभन्दा कम हुनु जरुरी मानिन्छ।