पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिग उपाधि जित्ने आफ्नो दशकौं पुरानो सपना पुरा गर्ने दरिलो सम्भावना बनाएको छ। बुधबार राति इंग्लिस क्लब आर्सनलमाथि २-१ को जित निकाल्दै फ्रेन्च जायन्ट्सले एग्रिगेट स्कोर ३-१ मा सेमिफाइनल जित्दै ३१ मेमा म्युनिखमा हुने फाइनल प्रवेश पक्का गरेको हो।
‘विशेष क्षण’ मा छ पीएसजी
पूर्व इंग्ल्याण्ड डिफेन्डर म्याथ्यु अप्सन भन्छन् – "पीएसजी अहिले एउटा विशेष क्षणमा छ। जुनसुकै क्लबभन्दा उनीहरूसँग ऊर्जा, गति र एकता छ। यो नै उनीहरूको उपाधि जित्ने समय हो।"
पीएसजीको यो सफलता पछाडि छ, प्रशिक्षक लुइस एनरिके को रणनीति। उनले मेस्सी, नेइमार र एमबाप्पे जस्ता स्टार खेलाडीको युगको अन्त्य गर्दै अब ‘टीमवर्क’ मा केन्द्रित टोली तयार गरेका छन्।
डिफेन्समा हाकिमी–मेन्डेसको जोडी
दुवै लेगमा म्यान अफ द म्याच घोषित भएका अक्राफ हाकिमी र नुनो मेन्डेसले आक्रामक र रक्षात्मक रूपमा प्रभावशाली प्रदर्शन गरे। हाकिमीले दोस्रो लेगमा शानदार गोल गर्दै टोलीलाई सुरक्षित अग्रता दिलाएका थिए।
पूर्व म्यानचेस्टर सिटी डिफेन्डर नेडुम ओनुओहा भन्छन्, “यिनीहरूले युरोपका शीर्ष विङ्गरहरूलाई बारम्बार चुनौती दिए, र उत्कृष्ट प्रतिरक्षा गरे। अहिलेका लागि यिनीहरू यूरोपमै सर्वश्रेष्ठ फुलब्याक जोडी हुन्।”
डोनारुम्माको ‘डिफेरेन्स मेकर’ भूमिका
गोलकिपर जियानलुइजी डोनारुम्माले सेभहरूको माध्यमबाट सेमिफाइनलमा निर्णायक भूमिका खेले। आर्सनलका प्रशिक्षक मिकेल आर्टेटा भन्छन्, “दुई लेगमा सबैभन्दा प्रभावशाली खेलाडी उनै थिए। उनले निर्णायक बचाउ गरे।”
डेम्बेलेको कीर्तिमानी प्रदर्शन
यो सिजन च्याम्पियन्स लिगमा पीएसजीका लागि ओस्मान डेम्बेले ले १२ गोलमा प्रत्यक्ष संलग्नता जनाउँदै क्लबको इतिहासमै एकै सिजनमा सबैभन्दा बढी योगदान गर्ने खेलाडी बनेका छन्। पहिलो लेगमा चोटग्रस्त भएपछि दोस्रो लेगमा ब्राडली बारकोलाले प्रभावकारी स्थानापन्नको भूमिका निभाए।
इन्टरविरुद्ध फाइनल: के उपाधि आउने?
लुइस एनरिकेले जुन ढंगले युवालाई अघि सारे, टीममा सामूहिकता भरे, र उच्चस्तरीय फिटनेस र रणनीति अपनाए–त्यसले अब फाइनलमा इन्टर मिलान विरुद्ध स्पष्ट मनोवैज्ञानिक र सामरिक बढत दिलाएको छ।
फ्रेन्च फुटबल विश्लेषक जुलियन लोरेन्सको टिप्पणी अनुसार, “यो टोली अब पूर्ण रूपमा पुनर्जीवित भएको छ। अहिलेको टोलीलाई हेर्दा २०२५ को उत्कृष्ट युरोपेली टिम भन्न सकिन्छ।”