“दुई तिहाइको अहंकारको बेलुन त फुटिसकेको देख्छु”, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका छन्।
सोमबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले दुई तिहाइ बहुमत प्राप्त सरकारले समेत गभर्नर नियुक्त गर्न नसकेको अवस्थामा अहंकारको घमण्ड चकनाचुर भएको टिप्पणी गरे।
“एक महिना बितिसक्दा पनि एउटा गभर्नर नियुक्त गर्न सक्नुभएको छैन,” उनले भने, “हरेक निर्णय र नियुक्तिमा स्वार्थ समूह हावी छन्, जनताले सहज रूपमा सेवा पाएका छैनन्, सार्वजनिक संस्थानहरू चरम राजनीतिकरणमा परेका छन्।”
अध्यक्ष प्रचण्डले प्राविधिक रूपमा सरकार नढलेको भए पनि जनताको नजरमा सरकार नैतिक रूपमा ढलिसकेको बताएका छन्।
“प्राविधिक रूपमा त अहिले सरकार ढलेको छैन,” उनले भने, “तर जनताको मन मस्तिष्कमा भन्ने हो भने अहिले सरकार छैन, ढलिसकेको छ।”
उनले सरकारको कार्यशैलीप्रति चिन्ता व्यक्त गर्दै लोकतन्त्रमाथि बाह्य खतिभन्दा सरकारकै आन्तरिक कार्यशैलीले खतरा उत्पन्न गरिरहेको चेतावनी समेत दिएका छन्।
“सरकारको कार्यशैलीले तपाईंहरू मात्रै होइन, लोकतन्त्र नै संकटमा पर्ने खतरा बढेको हो कि भन्ने चिन्ता छ,” उनले भने।