कुनै प्रश्न गर्दा एकदमै सोचेर जवाफदिने ११ वर्षिय प्रज्ञान कुमार गुप्ता गौतम सेकेन्ड्री स्कूलको ४ कक्षामा अध्ययनरत छात्र हुन् । व्यापारी प्रभाकर कुमार गुप्ता र गृहिणी नुतनदेवीका पहिलो सन्तान हुन् प्रज्ञान । उनकी एक बहिनी छन् । गुप्ता परिवार वीरगंज महानगरपालिकाको वडा नं. १० मा बस्दै आएका छन् ।
हजुरबुबा हजुरआमा फूपू सहितको संयुक्त परिवार छ उनको । पढ्न र खेल्न दुवै उतिकै रुचाउने प्रज्ञानलाई आफ्ना अंग्रेजी शिक्षक जेसन मार्लिन असाध्यै मन पर्छ । उनले पढाएको एकदमै रुचाउछन् उनी । छोटा छोटा प्रश्न उत्तर हुने भएकोले कम्प्यूटरमा सजिलो लाग्छ । तर विज्ञानमा धेरै याद गर्नु पर्छ त्यसैले त्यो अलि गाह्रो लाग्छ उनले भने । पढाइसंग संगै विद्यालयमा हुने अतिरिक्त क्रियाकलापहरु मध्ये ब्याडमिन्टन, क्रिकेट, फुटबल, म्यूजिक जस्ता खेलहरुमा चासो देखाउँछन् । गिटार बजाउ रुचाउने प्रज्ञान डान्स पनि गर्छन् ।
पनिर असाध्यै मन पराउने प्रज्ञान सिमला मिर्चको सब्जि बन्दा खान नाक खुम्चाउछन् । घरमा हुँदा पढ्ने, टिभी हेर्ने र चित्र, क्राफ्ट बनाउने गर्छन् । डोरेमन, मोटुपत्लु, अगि एण्ड कत्रोज, सिआई डि, पकडम पकडाई उनका मनपर्ने टिभी सोहरु हुन् । ठूलो भएर आफू डाक्टर बन्ने लक्ष्य रहेको प्रज्ञानको भनाइ छ । खाली समयमा आफ्ना बुबालाई पनि सहयोग गर्ने उनको बानी छ ।
प्रज्ञान एकदमै ज्ञानी छ । उसको पढाइ पनि राम्रो छ । म उसको पढाइ प्रति एकदमै सन्तुष्ट छु । तर मार्क अलि कम ल्याउँछ । त्यसैले हामीले उसलाई होम ट्यूसन पनि राखेका छौ । सरकारी विद्यालयमाभन्दा निजी विद्यालयमा राम्रो पढाइ हुन्छ भन्ने सोच अनुसार निजी विद्यालयमा नै पढाउँदै छौं ।
अहिले त सानै छ । जे पनि बन्छु भन्छ । अरुले जे भन्यो त्यहि बन्छु भन्ने यो उमेरै हो उसको । पछि उसको रुचि के मा हुन्छ । अहिले त मलाई पनि सहयोग गर्छ । के थाहा पछि उ यहि बिजनेस नै सम्हालेर पो बस्छ कि । यो त भविष्यको कुरा हो । उसको रुचि र योग्यतालाई हेरर नै हामी साथ र सहयोग गर्छाै ।