वीरगंज । वर्तमानमा मानिसहरु नैतिकता र ईमानमा चुक्दै गएको आरोप लागिरहेको समयमा समाजभित्र हुने आर्थिक कारोवारले यो कुरालाई चटक्कै नकार्न भने नसकिने भएको छ । बैकिङ्ग कसुरका दर्जनौं घटना बाहिरिने क्रमले पनि समाज भित्र यस्तो वास्तविकता छैन भन्ने नकार्न नसकिने भएको हो ।
पहिले–पहिले एक व्यक्तिले अर्को व्यक्तिसँग नगद कारोवार गर्दा कागजी तमसुक बनाउने चलन बग्रेल्ती थियो । पछिल्लो समयमा भने लेनदेन गर्ने व्यक्तिले आफूले लेनदेन गरेको रकमभन्दा निकै बढि अंक राखेर चेक पनि एकसाथ लिनेदिने गरेको घटना क्रमले पुष्टि गर्न थालेको छ । ऋण लिनेले तिर्न नसक्दा नगद लगानी गर्ने व्यक्तिले बैंकमा सो चेक पेश गर्ने र रकम नभए वाउन्स गर्ने गरिएको छ ।
यो कारोवारलाई बोलचालको भाषामा बैंकिङ्ग कसुर पनि भन्ने गरिएको छ । तीन पटकसम्म यस्तो चेक वाउन्स भए चेक दिने व्यक्तिमाथि बैंकिङ्ग कसुर गरेको अभियोगमा मुद्दा चल्छ । यसरी आर्थिक लेनदेनमा तमसुकले गर्ने काम पछिल्लो समय चेक वाउन्सले पनि प्रकृयामा बल दिने गरेको पाइएको हो ।
यो कार्यमा पर्सा जिल्ला पनि अछुतो छैन । यो जिल्लामा पनि चालु आर्थिक बर्षको अहिलेसम्म १ सय २ वटा बैंकिङ्ग कसुरका घटना प्रहरीमा दर्ता हुन पुगेका छन् । जब कि गएको आर्थिक बर्ष २०७८/०७९ मा ३ सय ८४ मुद्दामात्र दर्ता भएका थिए । त्यो अनुपातमा हेर्ने हो भने चालु आर्थिक बर्षको अहिलेसम्म यत्रो मुद्दा प्रहरीमा पुग्नु सामान्य नभएको तथ्याँकले पुष्टि गरेको छ ।
बैंकिङ्ग कसुरमा जाहेरी पर्दा नै यत्ति मुद्दाको संख्यामा बढोत्तरी भएको पर्साका प्रहरी प्रवक्ता दिपक गिरीले बताए । गतबर्ष १ सय २८ मुद्दा फछ्र्यौट नभएको पर्सामा चालु आर्थिक बर्षको अहिलेसम्म नै ९१ वटा मुद्दा फछ्र्यौट हुन पनि बाँकी रहेको उनको भनाइ छ । पर्सा प्रहरीले यो बर्ष जम्मा ११ मुद्दामात्रै फछ्र्यौट गरेको जिल्ला प्रहरी कार्यालय पर्साको तथ्याँकले देखाएको छ ।
गत आ.ब.मा भने ३ सय ८४ मुद्दा दर्ता भएकामा २ सय ५६ फछ्र्यौट भई १ सय २८ फछ्यौट हुन बाँकी रहेको पर्साका प्रहरी प्रवक्ता समेत रहेका डिएसपी गिरीले बताए । अझ अघिल्लो आर्थिक बर्ष ०७७/०७८ र आ.ब. २०७६/०७७ मा चाही प्रहरीमा जाहेरी परेका ७२ र ९० मुद्दा मध्ये पुरै फछ्र्यौट भएको तथ्याँकले देखाएको छ । गएको बर्ष र चालु आ.ब.मा भने बैंकिङ्ग कसुरका मुद्दा पनि ह्वात्तै बढेको र कतिपय अनुसन्धानकै क्रममा हुँदा फछ्र्यौट हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बैंकिङ्ग कसुरमा प्रहरीमा जाहेरी परेको एक वर्ष भित्र अनुसन्धान हुने र चेक अनादरको कसुरमा सिधै अदालमा मुद्दा दिन सकिने पर्साका प्रहरी प्रवक्ता गिरीले विस्तारमा बताए । कुनै पनि व्यतिm चेक लिएर बैंकमा जाँदा त्यो चेक साटिदैन र खातामा पर्याप्त रकम नभएको भनेर चेक बाउन्स गरिन्छ । तीन पटकसम्म चेक बाउन्स भएपछि पैसा पाउने व्यक्ति जाहेरी दरखास्त लिएर प्रहरीमा आउन मिल्ने प्रावधान छ । जाहेरी पछि प्रहरीले पनि बैंकलाई चिटठी लेख्छ । बैंकले खातावालाको सवै विवरण पठाइ विवरण प्राप्त भएपछि उच्च अदालतमा गएर पक्राउ पुर्जी जारी हुन्छ । अनुसन्धानको विचमा पनि पैसा लेनदेन भयो भने सरकारी वकिलको कार्यालय मार्फत मिलापत्र गराउने प्रावधान पनि रहेको पाइन्छ ।
मुद्दा चलिरहेको बिचमै पनि पैसा लेनदेन भयो मिलापत्र गर्न बाधा नपर्ने हुन्छ । सो समयमा पनि रकम लेनदेन गर्ने व्यक्तिहरुले ढिलासुस्ती गरेर अदालतको फैसला आए सोही अनुसार प्रकृया अगाडी बढेर जाने कानूनविदहरुले पनि बताएका छन् ।
पक्राउ पुर्जी जारी भएपछि भने चेक दिएर वाउन्स गराउने व्यक्तिलाई पक्राउ गर्न मिल्ने प्रावधान पनि छ । पक्राउ परेका व्यक्तिलाई प्रहरीले अदालतबाट म्याद लिएर उसको बयान गराउने, अनुसन्धान गर्ने र बाँकी सबै प्रमाण जुटाउने गरेको पर्सा प्रहरीले जनाएको छ । यस्ता मुद्दा सरकारी वकिल मार्फत अदालतमा पेश हुने गरेको प्रहरीको भनाइ छ । यस्ता मुद्दामा अदालते धरौटी तय गर्ने र धरौटी तिर्न नसके पूर्वपक्षका लागि जेल चलान गर्न समेत सक्ने प्रावधान रहेको छ ।