रौतहट । गत आर्थिक बर्ष रौतहटमा ७ सय १३ सवारी दूर्घटना भएका छन् । ती सवारी दूर्घटनामा परी ७२ जनाको मृत्यु भएको छ । मृत्यु हुने मानिसको संख्याभन्दा बढि दूर्घटनामा परी गम्भिर घाइते हुने पनि १ सय ४३ भएको पाइएको हो ।
सामान्य घाइते हुने पनि १ हजार २८ जना रहेको रौटहट ट्राफिक प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७७÷७८ मा ५ सय ६४ सवारी साधन दुर्घटना हुँदा ४६ जनाको मात्र मृत्यु भएको थियो भने गम्भिर घाइते हुनेको संख्या पनि १ सय २७ जना मात्र थियो । ७ हजार १३ भने सामान्य घाइते भएका थिए । दूर्घटना हुनेमा सबैभन्दा बढी मोटरसाइकल रहेका छन् ।
त्यसपछि जिप, ट्याक्टर, ट्रक तथा बस दूर्घटना भएको रौतहट ट्राफिक प्रहरीले जनाएको छ । ती सवारी दूर्घटनामा पर्नुमा बढ्दो सवारी चाप, तीव्र गति, यान्त्रिक गडबडी, साँघुरो तथा भत्किएको सडक, ट्राफिक नियमको पालना नगर्ने बानी प्रमुख रहेको ट्राफिक प्रहरीको भनाइ छ ।
रौतहटमा पूर्व पश्चिम राजमार्ग, वीरेन्द्र राजमार्ग गरेर दुईवटा मुख्य राजमार्ग रहेका छन् । राजमार्ग छेउछाउका स्थानहरुमा बाक्लो जनघनत्व भएको कारण दूर्घटना बढि हुने गरेको ट्राफिक प्रहरीको ठम्याई छ । तर बढ्दो जनघनत्व र सवारी चापलाई व्यवस्थापन गर्ने गरी पार्किङ व्यवस्था मिलाउनु पर्ने पनि ट्राफिक प्रहरीको सुझाव छ ।
बसपार्क नहुँदा साना तथा ठूला सवारी साधनहरु सडकको दायाँबायाँ राखेर यात्रु चढाउने ओराल्ने गर्दा दुर्घटनाको जोखिम उच्च रहेको छ । यता स्थानीय सरकार प्रमुख भने आफूहरु पार्किङलाई व्यवस्थित गर्न बसपार्क बनाउन लागिरहेको बताउँछन् । जिल्लाको क्षेत्रफल, सडकको लम्बाइ, सवारी चाप, राजमार्ग र कच्ची सडकको बढ्दो संख्याको आधारमा भने ट्राफिक प्रहरीको दरबन्दी कम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको भनाइ छ ।
१८ वटा पालिका रहेको रौतहट जिल्ला ३८ जना ट्राफिक प्रहरीले सिंगो हेर्नुपर्ने वाध्यता रहेको छ। सीमित श्रोत र साधनका बाबजुद पनि ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा आफूहरुले विभिन्न कार्य गर्दै आइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको भनाइ छ । बढ्दो सवारी दुर्घटना न्यूनीकरण ट्राफिक प्रहरीको मात्र नभई सरोकारवाला सबै एक भएर लाग्नु पर्ने प्रहरीको भनाइ छ ।
सडक तथा पार्किङको व्यवस्थापन एवम ट्राफिक नियमको इमान्दारीपूर्वक पालना गरे दुर्घटना न्यूनीकरण हुने विश्वास ट्राफिक प्रहरीको छ ।