नैतिक शिक्षाको आड, पाप र पुण्यका भरले गलत कार्य नगर्न सत्य युगमा मानिसलाई धर्मले बाँधेको कुरा धार्मिक ग्रन्थका वर्णीत तथ्यले दर्शाएको छ । नराम्रो काम गर्न हुँदैन पाप लाग्छु भन्ने आम मानिसमा विश्वास रहेको लामो विगतले देखाएकै छ ।
पाप र पुण्य जस्तो अदृश्य तर विश्वासको आधार आँखाले छर्लङ्ग देख्ने ठोस सामग्री जस्तो नभएपछि विस्तारै त्यसैमाथि प्रहार भएको पाइन्छ । समाज रुपान्तरणका नाममा केही धमिराले आम सर्वसाधारणलाई यस्तै कुरामा दिग्भ्रमित पार्दै विकासे कुरा मिसाइदिन्छन् । समाजका केही धुन्धुकारीहरुको धर्म नै कमजोर छिद्रलाई भ्वाङ्ग पारेर जडशुत्रवादीको ट्याग भिराउन सक्नु हो । विगतका परिवर्तनले औल्याएकै अर्को तथ्य पनि यहि हो ।
सत्य र धर्मको जग कमजोर बनाउँदै समाज रुपान्तरणका नाममा धकेलिएको परिवर्तन र विकासे पाटोले सत्य, त्रेता, द्वापर र कलियुगसम्म समाजलाई धकेलेको छ । यो युगसम्म समाज आइपुग्दा मानिसलाई अब सत्यवादीता, धर्म र पापले मात्र बाध्न नसक्ने भएर नै संविधान, ऐन, नियम र कानूनको आधार खडा गर्न परेको प्रष्टै छ ।
भूगोल परिवर्तित नाप नक्शासँगै कोरिएको कलियुगिन दूनियामा नेपाल भन्ने देशको सन्दर्भमा पनि पछिल्ला दशकलाई नियाल्ने हो भने नैतिक शिक्षा मिश्रित शिक्षालाई बुर्जुवा शिक्षा ठान्ने र विद्यालयमा पढाउँदै गरेका शिक्षकलाई त्यहाँबाट थुतेर सुलीमा चढाउनेसम्मका छद्मभेषी राजनीति राग अलाप्नेहरु अहिले सत्ताको वागडोरमा पनि छन् ।
राजनीतिका नाममा लाजनीति हावी भएर अधर्म र अराजकता बढेसँगै समाज रुपान्तरणले जसले जे गरे पनि हुने भने जस्तो भएपछि त्यो धेरैलाई फलिफाव पनि भएको छ । कलियुगिन दूनियामा नैतिक शिक्षाको कमी र मानिसको इज्वत प्रतिष्ठा अर्थमा मात्र जोडिन थालेपछि त्यसले पारेको असरलाई फलिफाव मात्र ठानिन थालेको पनि छ । अझ पावर र पहुँचको भरथेगले ठूला ठालुलाई त कलियुगिन दूनियामा बनाइएको संविधान, विधान र कानून केहीले पनि नछुने छर्लङ्ग छ ।
तर विपन्न र पहुँच तथा पावर नहुनेका लागी भने त्यस्ता संविधान, नियम कानून र ऐनले जीवनमाथि नै छडी तेर्सिएका उदाहरण परि छरपष्ट छन् । यो दुनियामामा अति नै न्यून संख्याका मनुवाले मात्र गलत कार्य गर्न हुँदैन भन्ने गरेको पाइन थालेकोले बाँकीको कुरा त छल र बलमा नै जोडबल जुटाएर सुनपानी छर्की चोख्याउने नजिर स्थापित भएकै छन् ।
अरुलाई नियम कानून र नीतिको व्याख्या गरेर नथाक्ने सरकारका प्रतिनीधिपात्रले नै जनतामाथि दोहोलो काडेको पछिल्लो बजेट भाषणका राजश्वका दरका ज्वारभाटाको सुनामीले ल्याएको तरङ्ग अन्ततः सकिदैछ । शुक्रबार नै त्यो तरङ्गको सुनामीलाई चोख्याइने सुवर्ण अवसरले कलियुगको दण्डमा ठूला उम्काउने र सानालाई मात्र ऐन कानून लाग्ने अर्को उदाहरणको पर्दाफास यो वाहेक अरु के हुन सक्छ र ?
तर त्यसमा पनि सर्वसाधारण र साना पद वा कम पावरमा हुनेहरुलाई भने होइन । अवसर र परिस्थितिले सकारात्मक नभएसम्म मात्र सर्वसाधारण पनि चुप बस्ने र पद र पावरमा पुग्ने साथ नियम कानून नलाग्ने परिपार्टी विकास हुने क्रम पनि चप्पल लगाएर दरबार छिरेकाहरुको काम गराइले नै देखाइसकेको छ । त्यसैले अबको बाटो भनेको नैतिक धरातललाई मजबुत पार्ने अस्त्र नै मजबुत नभए फेरि समयले कोल्टे नफेर्ला भन्न सकिन्न ।