वीरगंज। वीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले वीरगंज रक्सौल नाकालाई ह्यापी बोर्डरको रुपमा विकास गर्नुपर्ने बताएका छन्् ।
वीरगंजस्थित भिस्वा होटेलमा भारतीय महावाणिज्य दूतावास वीरगंजले आयोजना गरेको ‘भारत–नेपाल सीमा व्यापार’ सम्बन्धमा अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष गुप्ताले ह्याप्पी बोर्डरको रुपमा विकास भएमा पर्यटक एवम् आवागमन गर्ने यात्रुहरुलाई सहज हुने बताएका हुन् ।
रक्सौलमा विगतदेखि बन्द अवस्थामा रहेको विमानस्थल पुनः सञ्चालन गर्नुपर्ने जोड दिदै रक्सौल रेल्वे क्रसिङ््गका कारण सँधैभरी ढाट बन्द रहने र जामको समस्या भएकाले आभेर ब्रिज निर्माण गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।
अध्यक्ष गुप्ताले प्रस्तुत गरेको कार्यपत्रमा रक्सौल रेल्वे साइडिङ्गका रोडहरुलाई समयसापेक्ष स्तरोन्नती गर्नुपर्ने, रकसौल–पिपराकोठी ६ लेन सडक निर्माणको काम सम्पन्न गर्नुपर्ने, आईसिपी–लक्ष्मीपुर सडकखण्डमा निर्माणाधीन अवस्थामा रहेको फ्लाई ओभरको निर्माण कार्य सम्पन्न भएमा उद्योगी, व्यवसायीसँगै उपभोक्ताहरुलाई पनि सहज हुने उल्लेख गरिएको छ । साथै आयात निर्यात गर्दा कोलकताबाट परीक्षण गराउनुपर्ने बाध्यताको अन्त्य गरी आवश्यक प्रयोगशालाको स्थापना गर्नुपर्ने, ‘नेपाल भारत निर्यातमा भ्यालु एडिशनलाई घटाई १० प्रतिशत कायम गरिनुपर्ने, नेपालको आयातलाई थप सहज बनाउन मुम्बई, धमरा र केन्डला पोटलाई पनि नेपाल आयातको लागि प्रयोगमा ल्याउनुपर्ने, नेपाली सवारी साधनहरुलाई भारतीय भूमिमा आवागमनका लागि सहजता प्रदान गर्नुपर्ने उल्लेख छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठ, उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष, उद्योग वाणिज्य संघ जनकपुरका अध्यक्ष, आईसिपी भारततर्फका प्रमुख, भारतीय भन्सारका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।