बंगालको खाडीमा विकसित भएको गहिरो न्यूनचापीय प्रणाली आगामी २४ घण्टापछि क्रमशः कमजोर हुँदै जाने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर यसको प्रभावका कारण नेपालका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना अझै कायम रहेकाले बाढी, पहिरो तथा डुबानको जोखिमबाट उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
गएरातिदेखि नै देशका धेरै स्थानमा वर्षा भइरहेको छ। आज वर्षाको मात्रा र क्षेत्र थप बढ्न सक्ने मौसमविद् डेभिड ढकालले बताएका छन्। जोखिमयुक्त क्षेत्रमा सकेसम्म रातिको यात्रा नगर्न र नदी, खोला तथा पहिरोको जोखिम भएका स्थानमा विशेष सावधानी अपनाउन सुझाव दिइएको छ।
महाशाखाका अनुसार असोज ८ गते कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी पहाडी जिल्लामा जोखिमको संकेतस्वरूप सुन्तला रंग राखिएको छ। त्यस्तै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्र तथा कर्णालीका केही जिल्लालाई पहेँलो रंगले संकेत गर्दै मौसमसम्बन्धी सूचनामा अध्यावधिक रहन भनिएको छ।
असोज ९ गते जोखिम अझ बढ्न सक्ने संकेत गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रका ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, मनाङ र मुस्ताङलाई रातो रंगले संकेत गरिएको छ।
त्यसैगरी झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सालाई पहेँलो रंगले संकेत गरिएको छ। सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र बैतडीलाई भने बिहानको अद्यावधिकमा सुन्तलाबाट पहेँलो रंगमा परिवर्तन गरिएको छ।
असोज १० गते कर्णाली र सुदूरपश्चिममा जोखिम बढी रहने सम्भावना छ। डोल्पा, जाजरकोट, जुम्ला, मुगु, कालिकोट, बाजुरा, बझाङ, हुम्ला र दार्चुलालाई रातो रंगले संकेत गरिएको छ। यस दिन लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै जिल्लालाई सुन्तला रंगले संकेत गरी सतर्क रहन भनिएको छ।
असोज ११ गते भने अघिल्ला तीन दिनको तुलनामा वर्षा केही कम हुने सम्भावना रहेको छ। बागमतीभन्दा पश्चिमतर्फका जिल्लालाई पहेँलो रंगले संकेत गरिएको छ भने कोशी, मधेश र बागमतीका सबै जिल्लामा मौसम सामान्य रहने संकेत गरिएको छ।
मौसमविद्का अनुसार न्यूनचापीय प्रणाली आगामी २४ घण्टामा उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहे पनि यसको प्रभावका कारण केही स्थानमा भारी वर्षा हुन सक्छ। वर्षाका कारण भू–क्षय, बाढी, पहिरो, गेग्रान बहाव तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम बढ्न सक्नेछ।
ठूला तथा साना नदी–नालामा पानीको सतह बढ्न सक्ने तथा सडक, हवाई यातायात, कृषि, पर्यटन र दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले पर्वतारोही तथा हिमाली क्षेत्रमा रहेका व्यक्तिलाई पनि विशेष सावधानी अपनाउन भनिएको छ।