अवैध सामग्री लुकाइएको गोप्य सूचनाका आधारमा प्रहरीले विराटनगरका उद्योगी तथा मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाको निवास र कार्यालयमा सोमबार बिहानै व्यापक खानतलासी गरे पनि कुनै पनि गैरकानूनी सामग्री फेला नपरेपछि ‘क्लिनचिट’ दिएको छ। करिब पाँच घण्टा चलेको खोजतलासपछि प्रहरीले सूचनाको पुष्टि हुन नसकेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कोविद कटुवालको नेतृत्वमा गएको प्रहरी टोलीले बिहान करिब ४ बजेदेखि विराटनगर–७ स्थित मुन्दडाको निवासमा खानतलासी सुरु गरेको थियो। खोजतलासका क्रममा घरका विभिन्न कोठा, भान्सा, भण्डार, दराज तथा अन्य स्थानमा विस्तृत जाँच गरिएको थियो। यस अवधिमा घर आसपासका सडकमा समेत केही समयका लागि आवतजावतमा कडाइ गरिएको थियो।
एसपी कटुवालका अनुसार अवैध सामग्री राखिएको भन्ने सूचनाका आधारमा कानूनी प्रक्रियाअनुसार खानतलासी गरिएको हो। तर अनुसन्धानका क्रममा कुनै पनि गैरकानूनी वस्तु, नगद वा आपत्तिजनक प्रमाण फेला नपरेपछि मुन्दडालाई ‘क्लिनचिट’ दिइएको उनले बताए।
खानतलासीपछि जिल्ला प्रहरी कार्यालय मोरङले जारी गरेको विज्ञप्तिमा पनि प्राप्त सूचनाका आधारमा कानूनी प्रक्रिया पूरा गर्दै खोजतलास गरिएको र त्यस क्रममा कुनै पनि गैरकानूनी सामग्री नभेटिएको उल्लेख गरिएको छ।
उद्योगी प्रकाश मुन्दडाले प्रहरीको अनुसन्धान प्रक्रियामा आफूले पूर्ण सहयोग गरेको बताउँदै सूचनाका आधारमा प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गरेको प्रतिक्रिया दिए। “प्रहरीले सबै ठाउँमा खोजतलास गर्यो, तर केही पनि भेटिएन। यो उहाँहरूको नियमित प्रक्रिया हो,” उनले भने।
मुन्दडाका काका बेनीगोपाल मुन्दडाले पनि घरको सबै कोठा, भान्सा, भण्डार र दराजसम्म प्रहरीले खोजतलास गरेको तर कुनै पनि आपत्तिजनक सामग्री फेला नपरेको जानकारी दिए।
खानतलासीमा जिल्ला प्रहरी कार्यालय मोरङ, वडा प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। खोजतलास सम्पन्न भएपछि आवश्यक मुचुल्का तयार गरी प्रहरी टोली फर्किएको थियो।
प्रकाश मुन्दडा नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका उपाध्यक्षसमेत हुन्। उनी विराटनगरका स्थापित उद्योगीका रूपमा परिचित छन्। मुन्दडा समूहले जेजे ज्वेलर्स, हिमगिरि सोप इन्डस्ट्री, बाबा रिफाइनरी, मारुती रिफाइनरी, हाइलाइफ चप्पल, सीता एअर तथा विराटनगरस्थित सेन्ट्रल मललगायत विभिन्न व्यवसाय सञ्चालन गर्दै आएको छ।
यस घटनापछि निजी क्षेत्रका उद्योगी–व्यवसायीहरूले सूचनाको विश्वसनीयता, प्रहरीको कार्यशैली तथा उद्योगीमाथि हुने छापामारीका कारण व्यावसायिक वातावरणमा पर्न सक्ने प्रभावबारे प्रश्न उठाएका छन्। उनीहरूले कानूनी प्रक्रिया पारदर्शी र तथ्यमा आधारित हुनुपर्ने तथा यस्ता घटनाले निजी क्षेत्रको मनोबल कमजोर हुन सक्ने बताएका छन्।