श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा सेवाग्राहीका उजुरी र निवेदन अब प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गर्नुपर्ने व्यवस्था लागू गरेको छ। विभागले आफ्ना मातहतका सबै श्रम तथा रोजगार कार्यालय र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिपत्र गर्दै यस्तो निर्देशन जारी गरेको हो।
विभागका अनुसार श्रमिक वा पीडितले दिएको उजुरी कार्यालय प्रमुख तथा सम्बन्धित कर्मचारीले प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गरी त्यसबारे सम्बन्धित व्यक्तिलाई जानकारी गराउनुपर्नेछ।
विगतमा हेल्लो सरकार, श्रम मन्त्रालय, विभाग तथा कार्यालयमा सिधै दर्ता भएका उजुरी समयमै सम्बोधन नभएको, कर्मचारीबाट सेवाग्राहीप्रति उचित व्यवहार नदेखिएको र न्याय दिन ढिलाइ भएको भन्दै श्रमिकबाट युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसमक्ष समेत गुनासो पुगेपछि विभागले नयाँ निर्देशन जारी गरेको हो।
परिपत्रमा सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र निजामती सेवा ऐन, २०४९ अनुसार कर्मचारीले आफ्नो जिम्मेवारी र आचरणको पूर्ण पालना गर्नुपर्ने उल्लेख गरिएको छ। कुनै विषय सम्बन्धित कार्यालयको अधिकारक्षेत्रभित्र नपरेमा सेवाग्राहीलाई तत्काल जानकारी गराई सम्बन्धित निकायमा पठाउनुपर्ने व्यवस्था पनि गरिएको छ।
त्यसैगरी, श्रमिकका उजुरीमा सम्बन्धित प्रतिष्ठानबाट समयमै प्रतिक्रिया लिनुपर्ने, श्रम कानुनबमोजिम वार्ता गराउनुपर्ने तथा वार्ताबाट समाधान ननिस्किएमा कार्यालयले यथाशीघ्र निर्णय गर्नुपर्ने निर्देशन दिइएको छ। श्रम अदालत तथा श्रम कार्यालयबाट भएका आदेश र निर्णयहरू पनि समयमै कार्यान्वयन गर्न विभागले निर्देशन दिएको छ।
विभागले हेल्लो सरकार मार्फत प्राप्त गुनासोहरूको समयमै सम्बोधन गरी त्यसको जानकारी सम्बन्धित निकायलाई यथाशीघ्र गराउन समेत मातहतका कार्यालयलाई निर्देशन दिएको छ।
विभागको यो निर्णयले श्रमिकका गुनासा छिटो सुनुवाइ हुने र श्रम प्रशासनलाई थप जवाफदेही बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।