फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा आज (असार ३१ गते, मंगलबार राति) फुटबलका दुई परम्परागत प्रतिद्वन्द्वी इंग्ल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदैछन्। नेपाली समयअनुसार खेल बुधबार बिहान १२:४५ बजे अमेरिकाको एटलान्टास्थित मर्सिडिज–बेन्ज स्टेडियममा सुरु हुनेछ। खेलको विजेताले उपाधिका लागि फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।
विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिद्वन्द्वितामध्ये एक मानिने इंग्ल्यान्ड–अर्जेन्टिना भिडन्त २० वर्षपछि पुनः विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा हुन लागेको हो। सन् २००५ पछि यी दुई टोली पहिलोपटक आमनेसामने हुन लागेका हुन्। दुई देशबीचको फुटबल प्रतिद्वन्द्विता सन् १९८२ को फकल्याण्ड युद्धपछि अझ बढी चर्चामा आएको थियो। सन् १९८६ को विश्वकप क्वार्टरफाइनलमा डिएगो म्याराडोनाको 'ह्यान्ड अफ गड' गोल र 'गोल अफ द सेन्चुरी' ले यो प्रतिस्पर्धालाई ऐतिहासिक बनाएको थियो।
हेड–टु–हेड तथ्यांकमा पछिल्ला १० भेटमध्ये इंग्ल्यान्डले ४ खेल जितेको छ भने अर्जेन्टिनाले २ खेल आफ्नो पक्षमा पारेको छ। बाँकी ४ खेल बराबरीमा सकिएका छन्। यद्यपि पछिल्लो भेट सन् २००५ मा भएको थियो, जहाँ इंग्ल्यान्ड ३–२ ले विजयी भएको थियो।
दुवै टोलीले यस विश्वकपमा कठिन यात्रा तय गर्दै सेमिफाइनलसम्मको यात्रा गरेका छन्। इंग्ल्यान्डले अन्तिम १६ मा डीआर कंगोलाई तथा क्वार्टरफाइनलमा नर्वेलाई अतिरिक्त समयमा हराएको थियो। यता अर्जेन्टिनाले अन्तिम १६ मा इजिप्टविरुद्ध इन्जुरी समयमा जित निकालेको थियो भने क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।
फिफाको पछिल्लो वरीयतामा अर्जेन्टिना तेस्रो तथा इंग्ल्यान्ड चौथो स्थानमा छन्। इंग्ल्यान्डको टोली युवा खेलाडीहरूले भरिएको छ भने अर्जेन्टिनाको टोली अनुभवी खेलाडीहरूको मिश्रण मानिन्छ। अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी विश्वकपमा अर्को ऐतिहासिक उपलब्धि हासिल गर्ने लक्ष्यमा छन् भने इंग्ल्यान्डका कप्तान ह्यारी केन टोलीलाई ६० वर्षपछि विश्वकप फाइनलमा पुर्याउने प्रयासमा हुनेछन्।
इंग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले खेलअघि इतिहासभन्दा वर्तमान खेलमा ध्यान केन्द्रित गरेको बताएका छन्। उनले अर्जेन्टिनाप्रति सम्मान व्यक्त गर्दै आफ्नो टोलीले आफ्नै शैलीमा खेल्ने बताएका छन्। यता लियोनेल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रिनेछ।
विश्व फुटबलका दुई शक्तिशाली राष्ट्रबीच हुने यो सेमिफाइनललाई विश्वकप २०२६ कै सबैभन्दा प्रतीक्षित खेलका रूपमा हेरिएको छ।