वैदेशिक रोजगार विभागले विभागको अनुमति नलिई भारतस्थित विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने १५९ वटा म्यानपावर कम्पनीमाथि कारबाही गरेको छ।
विभागले ती कम्पनीहरूले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ विपरीत कार्य गरेको ठहर गर्दै पहिलो पटक सचेत गराउने कारबाही गरेको जनाएको छ।
विभागका अनुसार वैदेशिक रोजगार व्यवसाय सञ्चालनका लागि इजाजतप्राप्त संस्थाले स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था पालना भए–नभएको अनुगमन गर्न २०८२ चैत १ गतेदेखि २०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकहरूको उडान विवरण माग गरिएको थियो।
हाल सञ्चालनमा रहेका एक हजार ११७ इजाजतप्राप्त म्यानपावर कम्पनीमध्ये ६७८ कम्पनीले मात्रै मागिएको विवरण बुझाएका थिए। तीमध्ये १५९ कम्पनीले विभागको पूर्वस्वीकृतिबिना भारतका विमानस्थल प्रयोग गरी श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको पाइएको विभागले जनाएको छ।
त्यस्तै, विभागले माग गरेको विवरण नै उपलब्ध नगराउने ४३९ वटा म्यानपावर कम्पनीलाई पनि वैदेशिक रोजगार ऐनको दफा ३७ उल्लंघन गरेको ठहर गर्दै पहिलो पटक सचेत गराएको छ। ती कम्पनीलाई पुनः आवश्यक विवरण बुझाउन निर्देशनसमेत दिइएको छ।
यसैबीच, पटक–पटक कानुन, नियम तथा विभागीय निर्देशन उल्लंघन गर्ने थप आठ वटा म्यानपावर कम्पनीलाई जनही ५० हजार रुपैयाँका दरले जरिबाना गरिएको विभागले जनाएको छ। तीमध्ये तीन कम्पनीले पुनः भारतका विमानस्थल प्रयोग गरी श्रमिक पठाएको तथा पाँच कम्पनीले विभागले मागेको विवरण उपलब्ध नगराएको कारण कारबाही गरिएको हो।
विभागले वैदेशिक रोजगार व्यवसायीलाई कानुन तथा विभागीय निर्देशनको पूर्ण पालना गर्न आग्रह गर्दै भविष्यमा यस्ता गतिविधि दोहोरिए थप कडा कारबाही गरिने चेतावनी दिएको छ।
वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई स्वदेशको विमानस्थलबाट मात्र पठाउनुपर्ने व्यवस्था छ। विशेष परिस्थितिमा विदेशको विमानस्थल प्रयोग गर्नुपर्ने भए विभागबाट पूर्वअनुमति लिनुपर्ने कानुनी प्रावधान रहेको छ।
केही म्यानपावर कम्पनीले भारतीय विमानस्थल हुँदै श्रमिक पठाउने गरेको गुनासो आएपछि विभागले २०८३ असार २६ गते सूचना जारी गर्दै कुन विमानस्थल प्रयोग गरेर श्रमिक पठाइएको हो भन्ने विवरण पेश गर्न सबै इजाजतप्राप्त संस्थालाई निर्देशन दिएको थियो।