मौद्रिक नीति सार्वजनिक भएको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। बिहीबार नेप्से १९.६७ अंकले घटेर २,६०१.०० विन्दुमा कायम भएको हो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार ४ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ४ अर्ब ६१ करोड रुपैयाँमा सीमित भयो।
दिनभर बजारमा बिक्री दबाब देखिएको थियो। कारोबार भएका कम्पनीमध्ये ४२ कम्पनीको सेयर मूल्य बढ्दा २२९ कम्पनीको मूल्य घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो।
सबै समूहगत परिसूचक ओरालो लागेका छन्। बैंकिङ समूह ०.५० प्रतिशत, विकास बैंक १.११ प्रतिशत, फाइनान्स ०.६२ प्रतिशत, होटल तथा पर्यटन ०.७६ प्रतिशत, जलविद्युत् ०.७० प्रतिशत, लगानी ०.९५ प्रतिशत, जीवन बीमा ०.६१ प्रतिशत, उत्पादन तथा प्रशोधन १.१९ प्रतिशत, माइक्रोफाइनान्स ०.६९ प्रतिशत, निर्जीवन बीमा ०.६६ प्रतिशत, अन्य ०.१८ प्रतिशत तथा व्यापार समूह २.३६ प्रतिशतले घटेका छन्।
व्यक्तिगत कम्पनीतर्फ उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १२.६८ प्रतिशत र स्नो रिभर्स लिमिटेडको ११.७६ प्रतिशतले बढ्यो। त्यस्तै, जनउत्थान लघुवित्त वित्तीय संस्थाको सेयर ३.०९ प्रतिशत तथा त्रिशूली जलविद्युत् कम्पनीको २.७७ प्रतिशतले उकालो लाग्यो।
यता, सालपा विकास बैंकको सेयर मूल्य ८.२८ प्रतिशतले घट्दा थ्रीस्टार हाइड्रोपावरको ७.९२ प्रतिशत र ओम मेगाश्री फर्मास्युटिकल्सको ५.७६ प्रतिशतले गिरावट आएको छ।
कारोबार रकमका आधारमा डिबेन्चरहरू अग्रस्थानमा रहे। त्यसपछि रिलायन्स स्पिनिङ मिल्स, एसियन लाइफ इन्स्योरेन्स (संस्थापक), आँखुखोला जलविद्युत्, सेन्ट्रल फाइनान्स र बेस्ट फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
मौद्रिक नीति सार्वजनिक भएपछि लगातार दोस्रो दिन बजार घटेको हो। मौद्रिक नीतिमा संस्थाको वित्तीय सबलताका आधारमा सेयर धितो कर्जाको सीमा निर्धारण गरिने व्यवस्था उल्लेख गरिएकाले त्यसले लगानीकर्तामा केही अन्योलता सिर्जना गरेको विश्लेषण गरिएको छ।
हाल १८० दिनको औसत मूल्य वा वर्तमान बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसको ७० प्रतिशतसम्म सेयर धितो कर्जा उपलब्ध गराउने व्यवस्था लागू छ।
यस्तै, असार मसान्त नजिकिएकाले बैंकको साँवा तथा ब्याज भुक्तानीका लागि लगानीकर्ताले सेयर बिक्री बढाएको प्रभाव पनि बजारमा देखिएको विश्लेषकहरू बताउँछन्। शुक्रबारसम्म बिक्री गरिएको सेयरको रकम असार मसान्तभित्र खातामा जम्मा हुने भएकाले बैंकको किस्ता तथा ब्याज तिर्न सहज हुने अपेक्षाले पनि बिक्री दबाब बढेको मानिएको छ।a