फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पे ले पराग्वेकी सिनेटर सेलेस्टे अमारिल्ला ले आफू र फ्रान्सेली टोलीविरुद्ध गरेको रंगभेदी टिप्पणीको कडा निन्दा गरेका छन्। उनले अमारिल्लालाई "घृणित महिला" र "आफ्नो पदका लागि अयोग्य" भएको बताएका छन्।
विश्वकपको अन्तिम–१६ मा फ्रान्ससँग पराग्वे १–० ले पराजित भएपछि लिबरल र्याडिकल पार्टी की सिनेटर अमारिल्लाले सामाजिक सञ्जाल एक्स (X) मा एमबाप्पेको उत्पत्ति र शिक्षालाई लक्षित गर्दै विवादास्पद तथा रंगभेदी टिप्पणी गरेकी थिइन्।
त्यसको जवाफमा एमबाप्पेले लेखेका छन्, "सेलेस्टे अमारिल्ला, तपाईं घृणित महिला हुनुहुन्छ र आफ्नो पदका लागि योग्य हुनुहुन्न। तपाईंले पराग्वेको प्रतिनिधित्व गर्नुहुन्न। यो त्यही देश हो, जसले यस विश्वकपभर जोश, सम्मान र समर्पण देखाएको थियो।"
उनले थप भने, "तपाईंको गैरजिम्मेवारीपूर्ण र खुला रंगभेदी अभिव्यक्तिका कारण विश्वले पराग्वेका खेलाडीहरूले गरेको ऐतिहासिक प्रदर्शन बिर्सेर तपाईंले आफ्नो देशको सबैभन्दा खराब छवि प्रस्तुत गर्नुभएको छ। म तपाईंजस्ता मानिसलाई घृणा र रंगभेद फैलाउने छुट कहिल्यै दिन्न।"
फ्रान्सेली फुटबल महासंघले कानुनी कारबाही गर्ने
फ्रान्सेली फुटबल महासंघ (एफएफएफ) ले अमारिल्लाको अभिव्यक्तिलाई "अत्यन्त घृणित र अस्वीकार्य" भन्दै उनीविरुद्ध आपराधिक मुद्दा दर्ता गर्ने घोषणा गरेको छ।
महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "यी अभिव्यक्तिहरू आपराधिक र निन्दनीय छन्। यस्ता कार्यको कानुनी रूपमा अनुसन्धान र कारबाही हुनुपर्छ। फ्रान्सेली राष्ट्रिय टोलीका खेलाडीहरूले फ्रान्सको प्रतिनिधित्व गर्छन्, त्यसैले अपमान सम्पूर्ण देशमाथि भएको हो।"
पराग्वे सरकारको पनि असहमति
पराग्वे सरकार ले पनि सिनेटर अमारिल्लाको अभिव्यक्तिको विरोध गर्दै ती टिप्पणीहरू देशले अंगीकार गरेका शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सम्मान र मानव मर्यादाका मूल्यविपरीत रहेको जनाएको छ।
राष्ट्रपतिदेखि फुटबल जगतसम्मको समर्थन
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ ले सामाजिक सञ्जालमार्फत एमबाप्पेको समर्थन गर्दै लेखेका छन्, "किलियन एमबाप्पेको अर्को गोल—यसपटक रंगभेदविरुद्ध। जब घृणाले बोल्छ, हाम्रो उत्तर सम्मान, मर्यादा र भ्रातृत्व हुन्छ।"
यसअघि पराग्वेका पूर्व गोलकिपर होसे लुइस चिलाभर्ट ले पनि खेलअघि फ्रान्सेली टोलीलाई "अफ्रिकाबाट आएको टोली" भन्दै विवादास्पद टिप्पणी गरेका थिए।
त्यसको प्रतिक्रिया दिँदै फ्रान्सेली फुटबल महासंघ का अध्यक्ष फिलिप डियालो ले चिलाभर्टलाई "फुटबलका लागि लज्जास्पद व्यक्ति" भन्दै रंगभेदी अभिव्यक्तिको कडा आलोचना गरेका थिए।
विश्वकपमा उत्कृष्ट लयमा एमबाप्पे
एमबाप्पेले पराग्वेविरुद्धको खेलमा दोस्रो हाफमा निर्णायक पेनाल्टी गोल गर्दै फ्रान्सलाई क्वार्टरफाइनलमा पुर्याएका थिए। उनी हाल सात गोल सहित लियोनेल मेस्सी र एर्लिङ हालान्ड सँगै यस विश्वकपका संयुक्त सर्वाधिक गोलकर्ता हुन्। अब फ्रान्सले क्वार्टरफाइनलमा मोरक्को को सामना गर्नेछ।