ब्राजिलका महान् फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिएका छन्। फिफा विश्वकपको अन्तिम–१६ मा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि ३४ वर्षीय नेयमारले राष्ट्रिय टोलीबाट आफ्नो यात्रा समाप्त भएको घोषणा गरेका हुन्।
खेलको इन्जुरी समयको १०औँ मिनेटमा पेनाल्टीमार्फत सान्त्वना गोल गरेका नेयमारले खेलपछि भावुक हुँदै भने, "मैले सक्दो प्रयास गरें। अब सबै सकियो। मैले यहीँबाट यात्रा सुरु गरेको थिएँ र यहीँबाट अन्त्य पनि भयो।"
यससँगै सन् २०१० मा संयुक्त राज्य अमेरिकाविरुद्ध डेब्यु गरेका नेयमारले १६ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याएका छन्। उनले ब्राजिलका लागि १३० खेलमा ८० गोल गर्दै राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता खेलाडीका रूपमा आफ्नो यात्रा समाप्त गरेका छन्। साथै, महान् पेलेपछि चार फरक विश्वकप (२०१४, २०१८, २०२२ र २०२६) मा गोल गर्ने दोस्रो ब्राजिली खेलाडी बने।
ब्राजिलका लागि सर्वाधिक खेल खेल्ने सूचीमा नेयमार दोस्रो स्थानमा छन्। उनले १३० खेल खेलेका छन् भने शीर्ष स्थानमा रहेका काफुको नाममा १४२ खेल छ।
यता, एर्लिङ हालान्डको दुई गोलको मद्दतमा नर्वेले ब्राजिललाई २–१ ले हराउँदै पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा स्थान बनायो। पहिलो हाफमा ब्रुनो गिमाराइसको पेनाल्टी नर्वेका गोलरक्षक ओर्जान निल्यान्डले बचाएका थिए भने वैकल्पिक खेलाडी एन्ड्रिकले पनि उत्कृष्ट अवसर गुमाएका थिए।
यस हारसँगै ब्राजिल सन् १९९० यता पहिलोपटक विश्वकपको अन्तिम–१६ चरणबाटै बाहिरिएको हो।
ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले टोलीले राम्रो प्रदर्शन गरे पनि नतिजा आफ्नो पक्षमा नआएको बताए। उनले अब हारबाट पाठ सिक्दै भविष्यका प्रतियोगिताका लागि अझ सशक्त टोली निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।