पर्सा जिल्लामा अब नागरिकता लिनेबित्तिकै राष्ट्रिय परिचय पत्र (नेशनल आईडी) अनिवार्य रूपमा बनाइने नयाँ व्यवस्था लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले सेवा प्रवाहलाई छिटो, सरल र प्रभावकारी बनाउन यो प्रणाली सुरु गरेको हो, जसअन्तर्गत नागरिकता र नेशनल आईडी दुवै सेवा करिब १ घण्टाभित्रै उपलब्ध हुन थालेका छन्।
प्रमुख जिल्ला अधिकारी (सिडियो) भोला दाहालका अनुसार नागरिकता वितरणसँगै राष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्ने व्यवस्था लागू गरिएको हो। “यसले सेवाग्राहीलाई छुट्टै प्रक्रिया र झन्झटबाट मुक्त गर्नेछ, साथै सरकारी सेवामा पहुँच अझ सहज बनाउनेछ,” उनले बताए।
नयाँ व्यवस्थापछि सेवाग्राहीहरू सन्तुष्ट देखिएका छन्। एक सेवाग्राहीले भने, “पहिले एउटै कामका लागि धेरैपटक धाउनुपर्थ्यो, अहिले एकै ठाउँमा छिटो सेवा पाउँदा समय र खर्च दुवै बचत भएको छ।”
प्रशासनका अनुसार यस कदमले पहिचान प्रमाणीकरण, डिजिटल प्रणालीको सुदृढीकरण तथा सरकारी अभिलेख व्यवस्थापनलाई दीर्घकालीन रूपमा मजबुत बनाउने अपेक्षा गरिएको छ। साथै, सेवा छिटो, पारदर्शी र व्यवस्थित हुने विश्वास लिइएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले नागरिकलाई नयाँ व्यवस्थाबारे जानकारी राख्न र आवश्यक सहयोग गर्नसमेत आग्रह गरेको छ।