पितृसत्ता र पराधीनताले मधेशमा महिलाहरूका लागि छुट्टै संसार बनाएको छ, जहाँ बाहिरबाट हेर्दा सबथोक ठिकैजस्तो देखिए पनि भित्रभित्रै समस्याले थिचिरहेको छ । मधेशमै जन्मिएका, यहाँ विवाह गरेर घरजम गरेका, मधेशीको संस्कृति, संस्कार र परम्परालाई अँगालेका र नेपाली नागरिकता प्राप्त महिलाहरूलाई यहाँ मधेशी महिला भनिएको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार मधेश प्रदेशको कुल जनसंख्या ६१ लाख १४ हजार ६ सय छ, जसमध्ये महिलाको संख्या ३० लाख ४८ हजार ८४९ छ । यो कुल जनसंख्याको ४९.८६ प्रतिशत हो ।
मधेशमा प्रायजसो ग्रामीण भेगमा घर निर्माण गर्दा दुई वटा अाँगन राख्ने चलन छ । एउटा घरको भित्रैभित्र खुल्ने आँगन र अर्को ‘दरवज्जा’ वा दलान, जुन घरबाहिर हुने गर्दछ । यसरी बनाइएका दुवै आँगन हेर्दा सामान्य लागे पनि यसमा महिलाको उपस्थिति असामान्य हुन्छ । एउटै घरमा भएका आँगनहरूमा समेत महिलाहरूको उपस्थितिलाई बर्जित गर्ने गरिन्छ ।
भित्री आँगनमा छोरी, बुहारी वा घरका महिला सदस्यहरूको पहुँच भए पनि बाहिरको दरवज्जा, दुरा वा दलानमा महिला सदस्य बस्नुलाई राम्रो मानिँदैन । त्यहाँ बस्ने अधिकार पुरुष सदस्यहरूलाई मात्र हुन्छ । महिला त्यहाँ जानै प¥यो भने साँझको अँध्यारो कुर्ने र कोही पुरुषहरू नभएको मौका हेर्नुपर्ने हुन्छ । यस खालको बाध्यताले आफ्नै घरभित्र पनि नियम र दायरा बाँधिएको मधेशी समाजमा महिलाहरू अन्य समाजभन्दा अझ बढी शोषित र पीडित छन् । समयको परिवर्तनसँगै केही घरका आँगनहरू फेरिए पनि नियमहरूमा खासै परिवर्तन आएको छैन ।
समग्रमा हेर्दा, संस्कृति र संस्कारको सम्पूर्ण भार तल दबाइएका छन् मधेशका महिलाहरू, जहाँ एकातर्फ घुम्टोलाई संस्कारको रुप दिएर महिलाको मुख छोप्न बाध्य गरिएको छ । अर्कोतर्फ महिलालाई घरमा जरुरी सवालमा समेत निर्णयको अधिकार दिइएको छैन । मध्यकालीन निरंकुश समाजमा शासकको कुदृष्टिबाट छोरीचेलीहरूलाई बचाएर राख्न मुख छोप्ने घुम्टोको शुरूवात गरिएको थियो । तर, त्यही घुम्टोलाई अर्को कालखण्डमा संस्कृति र स्वाभिमानको संज्ञा दिएर महिलाहरूको स्वतन्त्रता छेक्ने साधन बनाइयो । समयको विकासक्रमसँगै समाजिक परिवेशमा परिवर्तन आवश्यक छ । तर, मधेश पुरानै ढर्रा र मानसिकतामा अहिलेसम्म बाँचिराख्दा समाजमा महिलाहरूको निर्णयले खासै स्थान पाउनसकेको छैन ।
त्रिभुवन विश्वविद्यालयको इतिहास विषयका उपप्राध्यापक हिरालाल कर्णको बुझाइमा कुनै समयमा सामाजिक र मानवीय आवश्यकताको आधारमा विकसित संस्कृति समाज विकासको क्रमसँगै ‘अपडेट’ गरिएन भने अर्को कालखण्डमा विकृतिको रुपमा देखिन थाल्छ । मध्यकालीन निरंकुश समाजमा शासकको कुदृष्टिबाट छोरीचेलीहरूलाई बचाएर राख्न मुख छोपेर राख्ने पर्दा प्रथा आजको एक्काइसौं शताब्दीमा समेत जीवन्त रहनु र यसलाई महिलाहरूको स्वतन्त्रता हरणकै लागि प्रयोग गरिनु विकृति हो ।
हुन त, मधेशमा अपनाइएका थुप्रै प्रथा र परम्पराका आधारहरू निकै बलिया छन् । घरकै जेठा पुरुष सदस्यहरूले आफ्नो छोरी बुहारीमाथि कुनै प्रकारको गलत नियत नराखून भन्ने उद्देश्यका साथ जेठाजु, ससुराबुवासँग समदुरी कायम गर्ने नियम बनाइएको थियो । तर, त्यो नियलाई पाप र पुण्यसँग जोडेर त्यहाँ पनि महिलालाई प्रताडना गर्ने बाटोको खोजी भयो ।
महिनावारी भएको बेला शारीरिक असहजतालाई ध्यान दिएर छुट्टै बस्ने वा घरको कामकाजमा सक्रिय नहुने व्यवस्था मिलाइयो । तर, त्यसलाई पनि नकारात्मक दिशामा ‘परिमार्जित’ गरेर महिनावारीलाई ठूलो अपराधको संज्ञा दिएर महिलाहरूसँग अपराधी झैं व्यवहार गर्न थालियो । थुप्रै मान्यताहरू यस्ता छन्, जसले महिलाहरूलाई अहिलेको शताब्दीमा समेत पराधीन बनाउनेबाहेक केही हुन सकेको छैन ।
महिलाको अस्तित्व नै उसको घरपरिवारका पुरुष सदस्यहरूमाथि निर्भर रहने र स्वतन्त्र भएर बाँच्न सक्ने कल्पनासमेत महिलाले गर्न नहुने खालको कडा मानसिकता र मनस्थिति अहिले पनि मधेशी समाजमा व्याप्त छ । मधेशमा दबिएका, हेपिएका र हिंसा भोगिरहेका महिलाको कल्पना गर्दा प्रायजसो दलित समुदाय वा पछाडि पारिएका समुदायका महिलाहरूको छवि अगाडि आउँछ । तर, यथार्थ एकदमै फरक छ । सबैभन्दा बढी पीडा र दमनमा आफूलाई उच्च जाति भन्ने सम्भ्रान्त वर्गका महिलाहरू छन् । इज्जत, मानसम्मान र परम्पराको नाममा घर भित्रभित्रै हिंसा, अपमान, विभेद र प्रताडना भोग्दै आएका तथाकथित उच्च वर्गका महिलाहरूले नत खुलेर बोल्न सकेका छन्, न त विरोध नै गर्न सकेका छन् ।
ऐतिहासिक कालमा नारीहरू पुरुषसरह नै स्वतन्त्र थिए । पुरुष झैं तिनीहरूले पनि शिक्षादीक्षा आर्जन गर्न, वैदिक मन्त्रोच्चारण गर्न र ऋचाहरूको रचना गर्न सक्थे । विदुषिहरू गार्गी र मैत्रेयीलाई त्यसको ज्वलन्त उदाहरणको रुपमा लिन सकिन्छ । मिथिलाका राजा जनकको छोरी सीता विदुषीमात्र नभई एक कुशल योद्धा पनि थिइन । मधेशमा यस्ता थुप्रै विद्धान र विदुषी भए, जसले परिवारमात्रै नभई समाज र देशकै लागि महत्वपूर्ण योगदानहरू दिएका छन् । तर, समयको परिवर्तनसँगै महिलाहरूलाई झनै स्वतन्त्र, आत्मनिर्भर र स्वाभिमानी हुनु साटो विभिन्न संस्कार र संस्कृतिको नाममा उनीहरूलाई पराधीन र बिचारा बनाइएको छ ।
नेपाली समाजमात्र अपवाद रहने कुरो भएन । यसमा पनि मधेशी महिलाहरू हिंसा, अपमान, विभेद र प्रताडनाका बढी नै शिकार भएका छन् । मधेशमा अविवाहित छोरीहरूले आफूभन्दा ज्येष्ठजनलाई ढोग्दा आशीर्वाद दिइन्छ–‘निक घरबर हुए’ (राम्रो घर र श्रीमान् पाउनू) । यसैगरी विवाहित छोरीबुहारीलाई आशीर्वाद दिनुप¥यो भने भनिन्छ– ‘सदा सोहागवती रहू, पुत्रवती रहू, माँगे, कोखे जुरायल रहू ’ (सधैँ विवाहित रहनू, छोरा पाउनू, सिन्दुर सजिरहोस्, बच्चा पाइराख्नू) । यी आशीर्वादहरूमा कहीँ पनि छोरी, बुहारी वा महिलालाई तिमी आफ्नो विवेकका साथ स्वतन्त्रताले बाँच्नू, तिम्रो करिअर बनाउनू वा तिमी ठूलो मान्छे बन्नू भनेर भनिँदैन ।
महिलाको जन्म बिहे गर्न, गृहस्थी जमाउन र बालबच्चा जन्माउनकै लागि भएको भन्ने कुरा मधेशमा दिइने आशीर्वादहरूले समेत प्रस्ट्याउँछन् । आशीर्वादमात्रै कहाँ ? यहाँ त गीतसङ्गीतमा समेत महिलाहरूले कुनै आशीष र शुभकामना पाउँदैनन् । तिनमा सबै आशीष र सबै खालका शुभकामनाका पात्र पुरुषहरूलाई मात्रै बनाइएको हुन्छ ।
मधेशमा यस्ता थुप्रै पर्व, व्रत, त्यौहार र उत्सवहरू मनाइन्छन् । जसलाई मनाउने त महिलाहरू हुन्छन् । तर, ती पुरुषका लागि राम्रो होओस् भनेर मनाइन्छन् । मधेशमा गाइने सुख र उल्लासका गीतहरूमा समेत महिलाको अस्तित्वलाई अस्वीकार गरिएको छ ।
जस्तो–
‘मागैछि हम वरदान हे छठिमैया,
अपना लेल माँगब सिरके सिन्दुरबा,
अपना ला माँगब गोदीके बालकबा,
नैहराला माँगब भाई भतिजा,
ससुराला माँगब देवर भैसुर’
मैथिली भाषामा रचिएको यस गीतको अर्थ हो–हे छठ माता ! म तपाईंसँग वरदान माग्न चाहन्छु, म आफ्नो लागि शिरको सिन्दुर माग्छु र काखमा बालक माग्छु, माइतका लागि भाइ र भतिजा माग्छु र ससुरालीको लागि देवर र जेठान माग्छु ।
छठ व्रतका बेला मधेशमा सुनिने अधिकांश गीतहरूमा छोरी सन्तानको चर्चा कहीँकतै गरिएको पाइँदैन । हुन त व्रत बस्नेहरू महिला नै हुन्छन् । तर, उनीहरू घरका पुरुषहरूको भलो, दीर्घायु, प्रगति र पुरुष सन्तानको जन्मकै लागि मात्रै अनुनय विनय गरिन्छ् । मधेशमा छोरा जन्मिँदा सोहर र खेलौना (खुशहालीका गित) गाउने गरिन्छ । तर, छोरी जन्मिँदा ती गीतहरू गाइँदैनन् ।
मधेशी समाजमा महिलाहरूको अवस्था बाहिरबाट सामान्य देखिए पनि भित्रभित्रै असमानता, पराधीनता र सांस्कृतिक रूपमा स्थापित विभेदले भरिएको स्पष्ट पार्छ । घुम्टो, आँगनको सीमांकन, धार्मिक आस्था, आशीर्वाद, गीत–संगीतजस्ता परम्पराहरू मूलतः सामाजिक सुरक्षा वा व्यवस्थापनका लागि शुरू गरिएका भए पनि समयसँगै ती नै महिलाको स्वतन्त्रता सीमित गर्ने साधनमा रूपान्तरण भएका छन् । यस समाजमा महिलाको भूमिका अझै पनि मुख्यतः विवाह, सन्तान जन्म र परिवारमा सीमित गरिन्छ, जहाँ उनको व्यक्तिगत पहिचान, निर्णय क्षमता र आकांक्षालाई प्राथमिकता दिइँदैन । विशेषगरी तथाकथित उच्च वर्गका महिलाहरूले ‘इज्जत’ र ‘मानसम्मान’को नाममा अझ बढी मौनता र दबाब सहनु परेको यथार्थ झन् जटिल छ । महिला सशक्तीकरण कुनै नयाँ अवधारणा होइन, बरू हराउँदै गएको परम्पराको पुनस्र्थापना हो । मधेशी समाजमा महिलाको वास्तविक सशक्तीकरणका लागि संस्कार र संस्कृतिको पुनव्र्याख्या आवश्यक छ । समयअनुसार परिवर्तन नगर्ने परम्परा विकृतिमा परिणत हुन्छन् । त्यसैले महिलालाई स्वतन्त्रता, शिक्षा, निर्णय अधिकार र सम्मान दिने दिशामा सामाजिक सोच परिवर्तन हुन जरुरी छ । जबसम्म महिलालाई समान अवसर र अधिकार दिइँदैन, तबसम्म समाजको समग्र विकास सम्भव हुँदैन ।