पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक आज पनि रिहा नहुने भएका छन्। सर्वोच्च अदालतको आदेशपछि पनि उनीहरू कम्तीमा आजको रात हिरासतमा नै रहने भएका हुन्।
चैत २३ गते सर्वोच्च अदालतले चौथो पटक म्याद नथप्न र अनुसन्धान पूरा नभए हिरासतमुक्त गरेर थप अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको थियो। सोही आदेशअनुसार काठमाडौं जिल्ला अदालतबाट थपिएको तेस्रो म्याद बुधबारसम्मका लागि मात्रै कायम थियो।
तर, सरकारी वकिल कार्यालयको रायका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंले दुवैलाई आज रिहा नगर्ने निर्णय गरेको हो। प्रहरी स्रोतका अनुसार उनीहरू अझै हिरासतमा राखिनेछन्।
सर्वोच्चका न्यायाधीशद्वय बिनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले चैत २५ पछि मात्र हिरासत मुक्त गर्न सकिने आदेश दिएको थियो। अदालतले चैत २१ देखि लागू हुने गरी थपिएको पाँच दिनभित्र अनुसन्धान सम्पन्न गरी मुद्दा चलाउने वा नचलाउने निर्णय गर्न निर्देशन दिएको थियो। अन्यथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार प्रक्रिया पूरा गरी हिरासतमुक्त गर्नुपर्ने उल्लेख गरिएको थियो।
यसअघि मन्त्रिपरिषद्ले भदौ २३ र २४ का घटनाबारे गठित गौरीबहादुर कार्की आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेपछि प्रहरीले ओली र लेखकलाई चैत १४ गते पक्राउ गरेको थियो।
काठमाडौँको बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर किशोरहरूको मृत्यु भएको घटनासँग सम्बन्धित अनुसन्धानका क्रममा उनीहरू पक्राउ परेका हुन्। उक्त घटनाका बेला ओली प्रधानमन्त्री र लेखक गृहमन्त्री थिए।
स्वास्थ्य समस्याका कारण ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ भने लेखकलाई महाराजगञ्जस्थित सशस्त्र प्रहरी बलको गणमा राखिएको छ।