मधेश प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदहरूसँग प्रधानमन्त्री बालेन शाहले बुधबार भेटघाट गरेका छन्। प्रदेशअनुसार सांसदहरूसँग छलफल गर्दै आएका उनले यसपटक मधेशका सांसदहरूसँग सिंहदरबारमा बैठक गरेका हुन्।
छलफलमा मधेश प्रदेशका ३० जना सांसद सहभागी भएका थिए भने मातृका यादव अनुपस्थित रहेका थिए। उपस्थितमध्ये एक जना नेपाली कांग्रेसबाट निर्वाचित र अन्य अधिकांश राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित रहेको बताइएको छ।
दिउँसो १२ बजेका लागि बोलाइएको बैठक निर्धारित समयअघि नै सुरु भएको थियो र करिब ३ बजेसम्म तीन घण्टा चलेको थियो। बैठकको सुरुवातमा प्रधानमन्त्री कार्यालयका असिम शाहले छलफलको उद्देश्यबारे संक्षिप्त जानकारी गराएका थिए।
त्यसपछि बैठकमा प्रवेश गरेका प्रधानमन्त्री बालेन शाहले सांसदहरूलाई बजेटअघि छोटो अवधिमा गर्न सकिने अत्यावश्यक कामबारे सुझाव दिन आग्रह गरे। “छोटो समयमा गर्न सकिने र अत्यावश्यक कामहरू के–के छन्, तपाईंहरू आफ्ना सुझाव राख्नुहोस्,” उनले भने।
छलफलमा सहभागी सांसदहरूले पालैपालो बोल्दै आफ्नो निर्वाचन क्षेत्र तथा समग्र मधेश प्रदेशका समस्या र आवश्यकताबारे धारणा राखेका थिए। अधिकांश सांसदले सुशासन, भ्रष्टाचार नियन्त्रण, सडक–पुल निर्माण, चुरे संरक्षण, मिटरब्याज समस्या समाधान, साना भन्सार पुनः सञ्चालन तथा सीमा व्यवस्थापनजस्ता विषय दोहोर्याएर उठाएका थिए।
यसैगरी ऐलानी जग्गा, मन्दिरसम्बन्धी जग्गा, हुलाकी राजमार्ग निर्माण, जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयमा सेवाग्राहीले भोग्नुपरेका समस्या तथा ठूला भ्रष्टाचारका फाइल छानबिन गर्नुपर्ने विषय पनि उठाइएको थियो।
बैठकमा प्रश्नोत्तर नभई सबै सांसदले एकतर्फी रूपमा आफ्ना धारणा राखेका थिए भने प्रधानमन्त्री सचिवालयले सबै विषय टिपोट गरेको थियो। प्रत्येक सांसदले दुईदेखि पाँच मिनेटसम्म आफ्नो भनाइ राखेका थिए।
छलफलको अन्त्यमा प्रधानमन्त्री शाहले उठेका विषय सम्बन्धित मन्त्रालयमार्फत समाधान गर्ने प्रयास गरिने र छोटो अवधिमा गर्न सकिने कामहरू अघि बढाइने बताए। साथै उनले आवश्यक कागजात सचिवालयमा बुझाउन सांसदहरूलाई आग्रह गरेका थिए।
बैठकमा सहभागी एक सांसदका अनुसार प्रधानमन्त्रीले बैठकभर मुख्यतः सुन्ने भूमिका निभाए र सुरु तथा अन्त्यमा गरी जम्मा करिब पाँच मिनेट मात्र बोले।
यसअघि प्रधानमन्त्री शाहले कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदहरूसँग पनि यस्तै भेटघाट गरिसकेका छन्।