यस वर्षको चैते दशैँ नजिकिँदै गर्दा एकातर्फ बित्दै गएको वर्षको विदाइको अनुभूति छ भने अर्कोतर्फ नयाँ वर्षको आगमनको रौनक पनि बढ्दै गएको छ। नेपालीहरूको महान चाड दशैँको प्रतिबिम्बका रूपमा लिइने चैते दशैँ धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको पर्व हो।
चैते दशैँलाई विशेषगरी नवरात्रिको एक महत्वपूर्ण चरणका रूपमा लिइन्छ। पौराणिक मान्यताअनुसार यही अवधिमा मर्यादा पुरुषोत्तम भगवान श्रीरामले रावणमाथि विजय प्राप्त गरेका थिए। श्रीमती सीताको अस्मिता रक्षा तथा दानवीय शक्तिको अन्त्यका लागि भगवान रामले देवी दुर्गाको आराधना गरी रावणको वध गरेको विश्वास गरिन्छ। यसै सन्दर्भमा चैते दशैँलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाउने चलन रहेको छ।
कतिपय पुराना कथनअनुसार पहिले मुख्य दशैँ चैत महिनामै पर्ने गर्दथ्यो। तर त्यस समयमा पर्ने खडेरी, मौसम परिवर्तन र गरिष्ठ भोजनका कारण मानिसहरू बिरामी पर्ने भएकाले पछि दशैँलाई असोज–कार्तिकतिर सारिएको मान्यता छ। यद्यपि, चैते दशैँको महत्व र उत्साह अझै पनि उत्तिकै देखिन्छ। यसलाई कतिपय स्थानमा ‘सानो दशैँ’ पनि भन्ने गरिन्छ भने भारत, बंगलादेश र म्यानमारमा ‘चैते नवरात्रि’का रूपमा मनाइन्छ।
अष्टमीमा विशेष पूजा र बलि परम्परा
दशैँ भन्नासाथ दशमी बुझिए पनि नेपालमा यसको मुख्य आकर्षण अष्टमीसँग जोडिएको छ। चैत शुक्ल अष्टमीका दिन विशेषगरी शक्तिपीठहरूमा पूजा–आराधना तथा बलि दिने परम्परा रहेको छ। दानवीय शक्तिमाथि दैवी शक्तिको विजयको उत्सवका रूपमा यस दिन विभिन्न देवी मन्दिरहरूमा भक्तजनको भीड लाग्ने गर्दछ।
काठमाडौं उपत्यकाभित्र गुह्येश्वरी, दक्षिणकाली, शोभाभगवती, रक्तकाली, नक्साल भगवती, मैतीदेवी तथा संकटा मन्दिरहरूमा बिहानैदेखि दर्शनार्थीहरूको घुइँचो लाग्ने गरेको छ। त्यस्तै, तलेजु भवानी, हनुमानढोका दरबार स्क्वायर र भक्तपुर दरबार स्क्वायरलगायतका स्थानमा बलि दिने कार्यक्रम आयोजना गरिन्छ, जसमा नेपाली सेनाको समेत सहभागिता रहने परम्परा छ। यस्ता गतिविधि पर्यटकहरूका लागि समेत आकर्षणको केन्द्र बन्ने गरेका छन्।
उपत्यका बाहिरका भगवती मन्दिर तथा शक्तिपीठहरूमा पनि उत्तिकै भीडभाड हुने गर्दछ भने कतिपय स्थानमा मेला समेत लाग्ने गर्दछ।
परम्परागत पूजा, भोजन र सामाजिक भेटघाट
मुख्य दशैँझैँ चैते दशैँमा पनि दुर्गा पूजा, देवी भागवत पाठ तथा कालिका पुराणका स्तोत्र वाचन गरिन्छ। घरघरमा मिष्ठान्न परिकार तयार गरी देवीलाई चढाइने र परिवारसहित सेवन गर्ने चलन छ। यस दिन अशोकको फूल खाने परम्परा पनि रहेको छ, जसले रोगव्याधि नष्ट हुने विश्वास गरिन्छ।
यसका साथै छोरी–चेली, दिदीबहिनी तथा आफन्तजनलाई बोलाएर सत्कार गर्ने परम्परा पनि जीवित छ। मांसाहारीहरूले पशुबलि दिएर मासु खाने चलन राख्दा शाकाहारीहरूले घिरौंला, भाण्टा, कुम्भिन्डो जस्ता फलफूललाई प्रतीकात्मक रूपमा बलि दिने चलन रहेको छ।