पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा आफ्नो निवासमा भेटिएको भनिएको रकमसम्बन्धी सामाजिक सञ्जालमा फैलिएका भिडियोहरू कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएको हुनसक्ने बताएका छन्।
जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगसमक्ष बयान दिँदै देउवाले आफूमाथि नितान्त षड्यन्त्र गरिएको दाबी गरेका हुन्।
कार्की आयोगले सरकारलाई बुझाएको प्रतिवेदन अझै सार्वजनिक भएको छैन। यद्यपि जनआस्था साप्ताहिकको अनलाइन संस्करणमार्फत प्रतिवेदनका अंशहरू श्रृङ्खलाबद्ध रूपमा सार्वजनिक भइरहेका छन्। सोही सामग्रीका आधारमा सार्वजनिक भएको बयानमा देउवाले आफूले कुनै राजनीतिक हस्तक्षेप वा पक्षपात नगरेको स्पष्ट पारेका छन्।
देउवाका अनुसार भदौ २३ गते उनी बूढानीलकण्ठस्थित आफ्नै निवासमा रहेका थिए भने सोही दिन बेलुका बालुवाटार पुगेर सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेका थिए। भदौ २४ गते बिहान प्रदर्शनकारीहरू निवास अगाडि भेला भई नाराबाजी गर्दा झडपको अवस्था सिर्जना भएको उनले बताएका छन्।
उनले निवासमा भेटिएको भनिएको रकम ठूलो परिमाणको नभएको र त्यसबारे सामाजिक सञ्जालमा आएका सामग्री भ्रामक भएको जिकिर गरेका छन्। “यो नितान्त षड्यन्त्र हो, तर कसले गर्यो भन्ने थाहा छैन,” देउवाको भनाइ उद्धृत गरिएको छ।
देउवाले आफ्नो निवासमा तोडफोड, आगजनी र लुटपाट भएको उल्लेख गर्दै त्यससम्बन्धी विवरण नेपाल प्रहरीले संकलन गरेको भए पनि कारबाहीबारे आफूलाई जानकारी नभएको बताएका छन्। साथै उनले घटनामा राजनीतिक हस्तक्षेप गरेको आरोप अस्वीकार गरेका छन्।
बयानमा उनले लोकतन्त्रमा ट्रेड युनियन अधिकारको सम्मान गर्नुपर्ने, विद्यार्थी संगठनहरू व्यापक हितका लागि क्रियाशील हुनुपर्ने तथा गैर–राजनीतिक संस्थाहरूमा राजनीतिकीकरण हुन नहुने धारणा व्यक्त गरेका छन्।
उनले तोडफोड, लुटपाट र आगजनीमा संलग्न जोसुकैलाई कारबाही गर्नुपर्ने तथा युवाको भावना समेट्दै नीतिगत, कानूनी र संस्थागत सुधार आवश्यक रहेको पनि उल्लेख गरेका छन्।