वीरगञ्ज महानगरपालिका–६ मा रहेको श्रीनिधि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष प्रेम चुडामणि बज्राचार्यको सभापतित्वमा साधारण सभा सम्पन्न भएको हो ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको साधारण सभासम्बन्धी निर्देशनको पूर्ण पालना गर्दै सभा सम्पन्न गरिएको संस्थाले जनाएको छ ।
सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत चन्देश्वरप्रसाद चौरसियाले वार्षिक प्रतिवेदनसहित नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गत आर्थिक वर्षमा संस्थाको कुल कारोबार ८८ करोड ८२ लाख रुपैयाँ पुगेको जानकारी दिए ।

उनका अनुसार गत असार मसान्तसम्म संस्थाको सेयर पुँजी ३ करोड ३१ लाख रुपैयाँ, बचत संकलन ७२ करोड ६३ लाख रुपैयाँ तथा विभिन्न कोषहरूमा ४ करोड ७२ लाख रुपैयाँ पुर्याइएको छ । यस्तै, संस्थाले ६० करोड ५८ लाख ६६ हजार रुपैयाँ कर्जा प्रवाह गरी आयकर व्यवस्थाअघि १ करोड ३१ लाख १३ हजार रुपैयाँ नाफा आर्जन गरेको जनाएको छ ।
संस्थाको स्थिर सम्पत्ति ४ करोड ६९ लाख ४६ हजार रुपैयाँ रहेको उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृत चौरसियाले कार्यालय प्रयोजनका लागि आदर्शनगरस्थित जग्गा खरिद गरिएको र सोही स्थानमा चाँडै भवन निर्माण कार्य सुरु गरिने जानकारी दिए । साथै, संस्थाले प्रविधिमैत्री सेवा विस्तार गर्दै मोबाइल बैंकिङ सेवा सुरु गरेको र सो एपमार्फत टपअपसहित विभिन्न सेवा लिन सकिने बताए ।
वार्षिक साधारण सभामा संस्थाका उपाध्यक्ष मनोजप्रसाद, सचिव निर्मला देवी चौरसिया, कोषाध्यक्ष ओमप्रकाश कलवार, अधिकृत महेशकुमार सहनी, हिरालाल चौरसिया, बिमल सिमरिया, मधु चौधरी, कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख जिष्णु बराल तथा विभिन्न सहकारी संस्थाका सञ्चालक र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य योगेश्वरप्रसाद चौरसियाले गरेका थिए । साधारण सभाका अवसरमा उत्कृष्ट योगदान पुर्याएका सदस्यहरूलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।