नेपाली कांग्रेसभित्र चुलिँदो विवाद अब औपचारिक टकरावतर्फ उन्मुख देखिएको छ। नेतृत्व र कार्यदिशामाथि प्रश्न उठिरहेका बेला आज विशेष महाधिवेशन आह्वान गर्ने तयारीसँगै कांग्रेसको आन्तरिक राजनीति निर्णायक मोडमा पुगेको छ।
नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधर समूहले आज औपचारिक रूपमा विशेष महाधिवेशन आह्वान गर्ने तयारी गरेको छ। विशेष पक्षधरले गठन गरेको ‘दोस्रो विशेष महाधिवेशन सचिवालय’ ले आज प्रतिनिधिहरूलाई विशेष महाधिवेशनका लागि आमन्त्रण गर्ने जनाएको छ।
विशेष महाधिवेशनको आह्वानका लागि सचिवालयका तर्फबाट स्थानीय प्रशासनसँग शान्ति सुरक्षाको व्यवस्थाका लागि पत्राचार गरिसकिएको छ। सचिवालयका तर्फबाट जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका नेता मनोजमणि आचार्यका अनुसार आज बिहान ११ बजेतिर पत्रकार सम्मेलन गरी विशेष महाधिवेशन अभियानकर्ता पक्षधरको तर्फबाट प्रतिनिधिहरूलाई औपचारिक रूपमा आह्वान गरिनेछ।
‘आज ११ बजेतिर पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशन अभियानकर्ता पक्षधरको तर्फबाट सबै प्रतिनिधिहरूलाई आमन्त्रण गर्नेछौं,’ आचार्यले बताए।
उनका अनुसार पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि विशेष महाधिवेशन आह्वान गर्ने तयारी गरेका छन्। ‘कार्यसम्पादन समिति बैठकपछि महामन्त्रीज्यूहरूले प्रेस विज्ञप्ति वा भिडियो सन्देशमार्फत् पनि आह्वान गर्न सक्नुहुन्छ,’ आचार्यले भने।
विशेष पक्षधर सचिवालयले मंगलबार शान्ति सुरक्षाको व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको हो। यसअघि नै विशेष महाधिवेशनका लागि भृकुटीमण्डप बुकिङ गरिसकिएको सचिवालयले जनाएको छ।
साथै विशेष महाधिवेशन सञ्चालनका लागि आवश्यक विभिन्न समितिहरू समेत गठन गरिसकिएको छ। महामन्त्रीद्वय थापा र शर्मा पक्षले नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भइसकेकाले अब विशेष महाधिवेशन अपरिहार्य भएको दाबी गरेको छ।
तर पार्टी सभापति शेरबहादुर देउवा पक्षले भने फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअघि विशेष महाधिवेशन सम्भव नरहेको अडान दोहोर्याउँदै आएको छ।