निवर्तमान सांसद प्रभु हजराले धर्म र जातभन्दा मानवता ठूलो हुने उल्लेख गर्दै वीरगन्जसहित देशभर शान्ति, सद्भाव र आपसी भाइचारा कायम राख्न सबै समुदायसँग हार्दिक अपील गरेका छन् ।
आज सार्वजनिक रूपमा जारी गरेको साझा शान्ति अपीलमा हजराले हिन्दू–मुस्लिम समुदायबीच कुनै पनि प्रकारको घृणा, द्वेष वा जातीय हिंसा भड्किन नदिन दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् । धर्म फरक हुन सक्ने भए पनि पहिचान मानवता नै भएको उनले स्पष्ट पारेका छन् ।
“हिन्दू–मुस्लिम एउटै माटोका फूल हौं, घृणाले होइन, प्रेमले सधैं फुल हौं,” भन्दै हजराले समाजलाई विभाजन गर्ने होइन, एकतामा बाँध्ने सोच आवश्यक रहेको बताएका छन् ।
उनले मस्जिद होस् वा मन्दिर, शान्ति र प्रेमको सन्देश एउटै हुने उल्लेख गर्दै दंगा, द्वेष र हिंसालाई त्यागेर भाइचाराको नयाँ समाज निर्माण गर्न सबैलाई आह्वान गरेका छन् । हातमा हात मिलाएर हिंसाको होइन, शान्तिको बाटो रोज्नुपर्ने उनको भनाइ छ ।
धर्मको नाममा अशान्ति फैलाउने जोसुकै भए पनि उनीहरूको निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न नेपाल सरकारसँग हजराले जोडदार माग गरेका छन् । साथै, नेपाल सबैको साझा घर भएकाले यसलाई जोगाउने जिम्मेवारी पनि सबै नागरिकको साझा दायित्व भएको उनले उल्लेख गरेका छन् ।
“हिन्दू–मुस्लिम सबै एक परिवार हौं, शान्ति र सद्भाव नै हाम्रो पहिचान हो,” भन्दै उनले वीरगन्ज र देशभर शान्तिको सन्देश फैलाउन आग्रह गर्दै अपीलको अन्त्य गरेका छन् ।