नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्दैछन्।
जेनजी आन्दोलनपछि एकीकृत समाजवादीसहितका दलहरू समेटेर नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि प्रचण्डको यो पहिलो दिल्ली यात्रा हो।
तत्कालीन नेकपा (माओवादी केन्द्र) र तत्कालीन एकीकृत समाजवादीलगायत दलनिकट प्रवासी संगठनहरूको एकता सन्देश सभालाई सम्बोधन गर्न प्रचण्ड दिल्ली जान लागेका हुन्। उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार उक्त कार्यक्रम एक महिनाअघि नै तय भएको थियो।
“एक महिना अघि नै तय भएको सन्देश सभा कार्यक्रम हो, त्यही कार्यक्रमलाई सम्बोधन गर्न दिल्ली जान लाग्नुभएको हो,” आचार्यले बताए।
आचार्यका अनुसार प्रचण्ड सन्देश सभालाई सम्बोधन गरी सोमबार नै स्वदेश फर्किने कार्यक्रम छ। “आज साँझ गएर भोलि साँझ फर्किने कार्यक्रम छ,” उनले जानकारी दिए।
फागुन २१ गते हुन लागेको चुनावको पूर्वसन्ध्यामा प्रचण्डको दिल्ली यात्रालाई कतिपयले चासोका साथ हेरिरहेका छन्। यद्यपि, दिल्ली बसाइका क्रममा सन्देश सभाबाहेक अन्य कुनै राजनीतिक भेटघाटका कार्यक्रम तय नभएको जनाइएको छ।
प्रचण्डको सचिवालयले पनि नयाँदिल्लीमा सन्देश सभालाई सम्बोधन गर्ने कार्यक्रमबाहेक अन्य औपचारिक राजनीतिक भेटघाट नरहेको स्पष्ट पारेको छ।