मधेश प्रदेश भौगोलिक, आर्थिक र सामाजिक दृष्टिले देशकै सबैभन्दा सम्भावनायुक्त भूभाग हो । दक्षिणी सिमानासँग जोडिएको खुला बजार, समथर उर्वर भूमि, जनसांख्यिक लाभ, औद्योगिक इतिहास, व्यापारिक पूर्वाधार, कृषिको विशाल सम्भावना र पर्यटनका अवसरहरू मेधशको समृद्धिका आधार हुन् । विडम्बना के छ भने यति धेरै अवसरको चाङमाथि उभिएर पनि मधेश आर्थिक र सामाजिक विकासमा पछाडि परेको छ । यसको कारण अरू केही नभएर दिगो नीतिको अभाव र भएका नीतिहरूको कमजोर कार्यान्वयन नै हो ।
सरकारी तथ्यांकले मधेशको सम्भावना र वास्तविक स्थितिबीचको दूरीलाई झनै उजागर गरिरहेको छ । देशको कुल गार्हस्थ उत्पादनमा १३ प्रतिशत योगदान लिएको मधेश औसतभन्दा कम आर्थिक वृद्धिमा खुम्चिएको छ । प्रतिव्यक्ति आय राष्ट्रिय औसतभन्दा एक तिहाइ कम छ । कृषि उद्यमको चर्चा गरिए पनि प्रदेशगत ४५६ उद्योगमध्ये २४ ओटामात्र मधेशमा सञ्चालनमा छन् । यस्तो दयनीय अवस्था सम्भावनाको कमीले भएको होइन, यो त नीतिगत अनिश्चय र प्रशासनिक जटिलताले सिर्जना गरेको परिदृष्य हो ।
मधेशका आठै जिल्ला भारतसँग जोडिएका छन् । भारतका बिहार, उत्तर प्रदेश र पश्चिम बंगालजस्ता विशाल बजारसँग प्रत्यक्ष व्यापारिक अवसर यो प्रदेशले पाएको छ । उद्योग, व्यापार र लगानीका लागि यही सीमावर्ती सुविधा मधेशलाई प्राप्त छ । मधेशमा विगतमा यो उद्देश्य लक्षित लगानी सम्मेलन नभएका पनि होइनन् । तर, उपलब्धि देखिएको छैन । सम्भावनाको हिसाबले मधेशलाई देशकै इकोनोमिक कोरिडोर बनाउन सकिन्छ । तर, चुनौती के छ भने प्रदेशले यसलाई रणनीतिक रूपमा उपयोग गर्न सकेको छैन । न नीति स्पष्ट छ, न लगानीमैत्री वातावरण नै बन्न सकेको छ ।
आर्थिक विकासका मेरुदण्ड मानिएको उद्योगी व्यवसायीहरूले महँगो उर्जा, असहज र तुलनात्मक रुपमा बढी खर्चिलो पारवहन, अव्यावहारिक कर र प्रशासकीय प्रक्रिया, अव्यावहारिक श्रम ऐन, पूँजी व्यवस्थापनका अप्ठेरालगायतलाई लगानीमैत्री वातावरणको अवरोध मानेका छन् । यस्तो अवस्थामा प्रतिस्पर्धी उत्पादन कसरी सम्भव होला ?
मधेशको सबैभन्दा ठूलो सम्भावना कृषि हो । त्यही क्षेत्रमा पनि अवस्था दयनीय छ । उर्वर भूमिमा निर्वाहमुखी कृषि कर्म चलेको छ । मधेशको कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान ३५ प्रतिशत छ । यो राष्ट्रिय औसत २४ प्रतिशतभन्दा निकै बढी हो । तर, खेतमा काम गर्ने किसानको संख्या घट्दै गएको छ । जलवायु परिवर्तनले मौसमी चक्र बिथोलिँदा खाद्यान्नको भण्डार मानिएको मधेशमै खाद्य संकटको अवस्था आउन सक्ने चेतावनी विज्ञहरूले दिएका छन् । बजारमा विदेशी खाद्यान्नको प्रभुत्व बढ्दै गएको छ । सिँचाइका योजनाहरू कागजमै सीमित छन् । कृषि उद्यम विकासको कुरा निकै सुनिन्छ, तर यसका नाममा योजनाको सूचीमात्र छ, त्यसले उत्पादनमा ल्याएको परिवर्तन न्यून छ ।
जनसांख्यिक पक्ष पनि यस्तै छ । देशको कुल क्षेत्रफलको ६ दशमलव ६ प्रतिशत भूभागमा बसेका २० प्रतिशत जनसंख्या मधेशका लागि अवसर बन्नुपर्ने हो । तर, यो प्रदेश वैदेशिक रोजगारीमा सबैभन्दा बढी कामदार पठाउने प्रदेशको रुपमा अग्रस्थानमा छ । यसलाई अवसर मान्ने कि चुनौती ? औसत बेरोजगारी ११ प्रतिशत हुँदा बेरोजगारी २० दशमलव १ प्रतिशत पुगेको छ । जनशक्ति धेरै छ, तर दक्षतामा राज्यले लगानी गरेको छैन । शिक्षा र स्वास्थ्यको कमजोर पहुँचले मधेशको मानव विकास सूचक झनै खस्किएको छ ।
पर्यटन मधेशको अर्को ठूलो अवसर हो । तर, समन्वय अभाव र योजनाहीनताले प्रयोग हुन सकेको छैन । धार्मिक, सांस्कृतिक र सीमावर्ती गन्तव्यको श्रृंखला छ । पर्यटनको सम्भावनाको प्याकेजिङ र प्रवद्र्धन शून्यजस्तै छ । अहिले प्रश्न एउटै छ–यति सम्भावना भएर पनि मधेश किन पछाडि परेको छ ? उत्तर पनि एकै छ, सम्भावना नभएर होइन, प्रणाली कमजोर भएकाले मधेश अवसरको उपयोगमा पछाडि परेको हो । नीति अस्पष्ट छ । कार्यान्वयन कमजोर छ । र, तहगत सरकारबीच समन्वय छैन ।
उद्योग, कृषि र पर्यटनका लागि कम्तीमा पाँच वर्षे रोडम्याप बनाउनु जरुरी छ । अझ निजीक्षेत्रले त २० वर्षका लागि दिगो नीति बनाउन माग अघि सारेको छ । स्थिर नीति र यसको कठोर कार्यान्वयनको खाँचो छ । सीमा व्यापारलाई रणनीतिक रूपमा उपयोग गरिनु पर्दछ । भारतसँगको आर्थिक सम्बन्धलाई व्यवस्थित, पारदर्शी र पारस्परिक लाभमा आधारित बनाउने कूटनीतिक दक्षता विकास गर्नु जरुरी छ । सम्भावनाको चाङ गौरव बन्नुपर्ने हो, विडम्बनाको विषय होइन । कृषि क्षेत्रको आधुनिकीकरणसँगै उद्यमीकरण गर्नु पर्दछ । सिँचाइ सुनिश्चितता, मूल्य शृंखलाको विकास, उत्पादन, प्रविधि, बजार प्रवद्र्धनको एकीकृत कार्यक्रम ल्याउनु पर्दछ । कर, पारवहन र बिजुलीको लागत घटाएर प्रशासकीय प्रक्रिया सरल बनाउन सकियो भने लगानीको वातावरण बन्न सक्दछ । उत्पादनलाई प्रतिस्पर्धी नबनाएसम्म औद्योगिकीकरण सम्भव छैन । लागत उच्च राखेर गरिएको उद्यम विकास नाममात्रको हुनेछ ।
मानव संसाधन विकास अर्को आधार हुन सक्दछ । दक्षता आधारित शिक्षाले जनसंख्यालाई अवसरमा रूपान्तरण गर्न सक्दछ । पर्यटन प्रवद्र्धनले मधेशलाई समृद्धिको ढोका खोल्न मद्दत पु¥याउन सक्दछ । जनकपुर–वीरगञ्ज–पूर्वपश्चिम पर्यटकीय संरचना विकास गर्दै संयुक्त प्रवद्र्धनको नीति कार्यान्वयनमा ल्याउन जरुरी छ । मधेशलाई अवसरको खानी भन्न जति सजिलो छ, तर त्यसलाई उत्खनन गर्ने क्षमता निर्माण नगरी विकास असम्भव छ । समय, बजार र लगानीको दिशा बदलिँदैछ । अब मधेशले पनि नीति बदल्नु पर्दछ । नीतिलाई विकास र समृद्धिमैत्री बनाउन नेतृत्वको सोचमा पनि प्रवद्र्धन जरुरी छ ।