तेजाब आक्रमणबाट बाँचेर अधिकारका लागि आवाज उठाउँदै आएकी मुस्कान खातुनले अनुहार जले पनि आफ्नो सपना नजलेको बलियो संदेश दिएपछि राष्ट्रिय सभागृह क्षणभर मौन बनेको थियो। नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्दै बिहीबार आयोजित एकता घोषणा कार्यक्रममा बोल्दै उनले आक्रमणले आफूलाई रोक्न नसकेको दोहोऱ्याइन्।
कार्यक्रममा सम्बोधन गर्दै मुस्कानले भनिन्, “उसले मेरो अनुहार जलायो, सपना जलाउन सकेन।” उनले सबै जेनजी पुस्तालाई एकताबद्ध भएर देश परिवर्तनको यात्राबाट नफर्कन आग्रह गरिन्।
उनका अनुसार देशमा तेजाब आक्रमण मात्र होइन, दिदीबहिनीहरूले ठूलो संख्यामा अन्य धेरै प्रकारका हिंसा सहनुपरेको छ। “तेजाब आक्रमण अन्त्य गर्न सफल भएँ, तर हिंसा यत्तिमै सीमित छैन। सम्पूर्ण प्रकारका हिंसाको अन्त्य आवश्यक छ,” उनले प्रष्ट पारिन्।
मुस्कानले आफू पाँच वर्षदेखि निरन्तर अभियानमा लागेको बताउँदै जेनजी पुस्ताले चाहेको ‘भ्रष्टाचारमुक्त र प्रगतिशील राष्ट्र’ बनाउन सबै मिलेर उभिनुपर्नेमा जोड दिइन्।
उनले सम्बोधनमा भनिन्:
“हाम्रो देशमा भएको भ्रष्टाचारको अन्त्य होस्, प्रगति होस् भन्ने जेनजीको चाहना छ।”
“हामी नेपाली भएकामा गर्व गर्नुपर्छ, जहाँ गए पनि देशलाई पहिचान दिन सक्नुपर्छ।”
कार्यक्रममा उपस्थित नेता पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई धन्यवाद दिँदै उनले अन्त्यमा पुनः दोहो¥याइन्—
“यो पाइला पछि नपार्नुहोस्, अवश्य पनि देश परिवर्तन हुनेछ।”