नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएपछि उनले औपचारिक रूपमा कमाण्ड सम्हालेका हुन्।
अघिल्ला आईजीपी चन्द्रकुवेर खापुङ ३० वर्षे सेवा अवधिका कारण कात्तिक २६ गते राति १२ बजेबाट अनिवार्य अवकाशमा गएपछि प्रहरी नेतृत्व कार्कीको हातमा आएको हो। मन्त्रिपरिषद्को कात्तिक २५ गतेको बैठकले कार्कीलाई नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको थियो।
फिल्डदेखि आईजीपी सचिवालयसम्मको अनुभव
कार्कीले आफ्नो करियरमा विविध जिम्मेवारी सम्हालेका छन्। डीआईजी हुँदा उनले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको कमाण्ड सम्हालेका थिए, जबकि एसएसपीको रूपमा काठमाडौं प्रहरी परिसरको नेतृत्व गर्दा चर्चित भुटानी शरणार्थी प्रकरण चलिरहेको थियो।
२४ भदौमा उपत्यकामा जेनजी आन्दोलनका बेला कार्कीले काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमाण्ड सम्हालेका थिए। त्यसअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागका प्रमुखका रूपमा कार्यरत थिए।
इमानदार छवि र अनुशासित नेतृत्व
कार्कीलाई संगठनभित्र इमानदार, अनुशासित र कार्यकुशल अधिकृतका रूपमा चिनिन्छ। करियरभर कुनै आर्थिक वा प्रशासनिक विवादमा नजोडिएका उनीले फिल्डदेखि आईजीपी सचिवालयसम्मको अनुभव बटुलेका छन्।
विदेशमा विभिन्न सुरक्षा र प्रशासनिक तालिम लिएका कार्की यसअघि नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता समेत रहिसकेका थिए। सहकर्मीहरूले उनलाई “व्यावहारिक, निर्णयक्षम र नेतृत्व–उन्मुख अधिकारी” का रूपमा लिएका छन्।