नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदन परिमार्जनसहित पारित गर्दै शुक्रबार सम्पन्न भएको छ। बिहीबारदेखि सुरु भएको बैठक सकिएको माओवादी नेता रहिश साहले जानकारी दिए।
बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव पेस गरेका थिए, जसलाई बैठकले स्वीकार गरेको छ। यससँगै माओवादी केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको छ। साथै, प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव पनि राखेका थिए, जुन बैठकले पारित गरेको छ।
बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभाको चुनाव (फागुन २१) पछि मात्र महाधिवेशन गर्नुपर्ने धारणा राखेका थिए भने अध्यक्ष प्रचण्डले कार्यवाहक अध्यक्ष आफूलाई दिनुपर्ने प्रस्ताव गरेका थिए। तर, यी प्रस्ताव अस्वीकृत भएका छन्। त्यस्तै, उपमहासचिव जनार्दन शर्माले सबै पदाधिकारी नआउने गरी नयाँ टिम ल्याउने र हालका पदाधिकारीलाई निर्देशक समितिमा रूपान्तरण गर्ने प्रस्ताव पनि अस्वीकृत भएको छ।
तीन वटै प्रस्तावमाथि छलफलपछि प्रचण्डले जवाफ दिने क्रममा हलमा उठेका विषयलाई गम्भीरतापूर्वक लिएर अघि बढ्ने प्रतिबद्धता जनाए। उनले पार्टीका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने घोषणा पनि गरे।
बैठकमा सुदूरपश्चिम प्रदेशका प्रतिनिधि समूहका तर्फबाट हरि ज्ञवाली अखण्डले प्रस्तुत गरेको निष्कर्षमा पनि माओवादी नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्नुपर्ने प्रस्ताव गरिएको थियो। उक्त प्रस्तावअनुसार, पूर्व महालेखा परीक्षक वा स्वतन्त्र व्यक्तिहरुको सहभागितामा सम्पत्ति छानबिनको कार्यविधि तयार गरी आयोग गठन गर्ने भनिएको छ।
प्रचण्डले सोही प्रस्तावलाई सम्बोधन गर्दै पार्टीका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका हुन्।