नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा र नेसपाबीच पार्टी एकताको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । हालै बसेका ती दलका बैठकहरूले विचार र सिद्धान्त मिल्ने पार्टीबीच एकतापूर्वक अघि बढ्ने निर्णय गर्दै एकता प्रक्रियाको शुरुवात गरेका हुन् ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कम्युनिस्ट एकताका लागि पार्टी बैठकमै औपचारिक निर्णय गरिसकेका छन् । भदौ ३ गते बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले सम्पूर्ण कम्युनिस्ट, वामपन्थी र समाजवादी शक्तिलाई एकताबद्ध भएर अघि बढ्न अपिल गरेको थियो ।
‘मुलुकमा उत्पन्न विषम परिस्थितिमा वामपन्थी शक्तिहरू गम्भीर हुनु जरुरी छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘कम्युनिस्ट आन्दोलन, राष्ट्रिय स्वाधीनता र जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्न सम्पूर्ण वामपन्थी तथा समाजवादी शक्तिहरूलाई एकताबद्ध हुन हार्दिक अपिल गर्दछौं ।’
त्यसैगरी नेकपाले पनि कम्युनिस्ट पार्टी एकताको निर्णय गर्दै भदौ २३–२६ सम्म कपिलवस्तुमा बसेको केन्द्रीय समिति बैठकमार्फत तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा बनेको उक्त टोलीमा स्थायी समिति सदस्य अनिल शर्मा र कर्णजित बुढाथोकी रहेका छन् ।
यसअघि साउन १९ गते सम्पन्न माओवादी केन्द्रको स्थायी समिति बैठकले पनि अन्य कम्युनिस्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही भदौ ९ गते बस्ने केन्द्रीय समिति बैठकमा समाजवादी मोर्चाका घटकहरूसँग पार्टी एकता र बृहत् मोर्चा बनाउने प्रस्ताव पेश गर्ने तयारी गरेका छन् ।
समाजवादी मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा र महेन्द्रराय यादव नेतृत्वको नेसपा रहेका छन् । सम्भव भएसम्म यी चारै पार्टीबीच एकता गर्ने तयारी भइरहेको नेताहरूले बताएका छन् ।
एकीकृत समाजवादीका नेता बेदुराम भुसालले तीन पार्टीले औपचारिक फोरमबाट निर्णय गरिसकेको भन्दै, “अब प्रक्रियागत रूपमा गृहकार्य गर्दै अघि बढ्नुपर्छ,” भनेका छन् । त्यस्तै, माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले विचार मिल्ने कम्युनिस्ट पार्टीसँग एकताको पहल भइरहेको र सकेसम्म समाजवादी मोर्चालाई नै एकतामा रूपान्तरण गर्ने लक्ष्य राखिएको बताएका छन् ।
यसैबीच, नेसपा अध्यक्ष महेन्द्रराय यादवले पनि समाजवादी मोर्चाका घटकबीच एकताको विषयमा निरन्तर छलफल भइरहेको जनाएका छन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमले पुराना दलहरूलाई रूपान्तरण र एकताको दबाब बढाएको छ । सोही दबाबसँगै वामपन्थी दलहरूले एकता प्रक्रियालाई तीव्रता दिएका हुन् । उक्त आन्दोलनकै परिणामस्वरूप कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सत्ताच्युत भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भइसकेको छ, जसले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको घोषणा गरिसकेको छ ।