अनलाइन खेलसम्बन्धी “प्रमोशन एण्ड रेगुलेसन अफ अनलाइन गेमिङ बिल” संसदको दुवै सदनबाट पारित भएपछि फ्यान्टासी खेल प्लेटफर्म ड्रीम ११ ले भारतीय क्रिकेट टोलीको प्रायोजन बन्द गर्ने निर्णय गरेको छ। यस निर्णयपछि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई ) सेप्टेम्बर ९ मा यूएईमा सुरु हुन लागेको एशिया कप अघि नयाँ प्रायोजक खोज्ने अवस्थामा पुगेको छ।
भारतीय मिडिया अनुसार, ड्रीम ११ का प्रतिनिधिहरूले मुम्बईस्थित बीसीसीआई कार्यालयमा पुगेर बोर्डका प्रमुख कार्यकारी अधिकृत हेमाङ अमिनलाई आफ्नो निर्णय जानकारी गराएका थिए। बोर्डले छिट्टै नयाँ टेन्डर जारी गर्ने अपेक्षा गरेको छ।
बीसीसीआईका एक अधिकारीले भने, “ड्रीम ११ का प्रतिनिधिहरूले कार्यालयमा आएर सीईओ हेमाङ अमिनलाई जानकारी गराए कि उनीहरूले अब जारी राख्न सक्दैनन्। त्यसैले एशिया कपको लागि उनीहरू टोलीको प्रायोजक हुने छैनन्। बीसीसीआई छिट्टै नयाँ टेन्डर निकाल्नेछ।” अर्को अधिकारीले थपे कि प्रायोजकको यो निर्णयका कारण उनीहरूलाई कुनै दण्ड गरिने छैन। सम्झौतामा यस्तो व्यवस्था छ कि यदि प्रायोजकको मूल व्यवसायमा सरकारले लागू गरेको कानुनले असर पुर्याउँछ भने उनीहरूले कुनै शुल्क तिर्नु पर्दैन।
ड्रीम ११ १८ वर्षअघि स्थापना भएको कम्पनी हो र हाल यसको मूल्य करिब ८ अर्ब डलर रहेको छ। जुलाई २०२३ मा यसले बीसीसीआई को मुख्य प्रायोजकको भूमिका सम्हालेको थियो र शैक्षिक प्रविधि कम्पनी Byju’s लाई प्रतिस्थापन गर्दै तीन वर्षको सम्झौतामा ३५८ करोड रूपैयाँको सम्झौता गरेको थियो। ड्रीम ११ ले भारतीय टोलीका ठूला खेलाडीहरू—महेन्द्रसिंह धोनी, रोहित शर्मा, हार्दिक पाण्ड्या, ऋषभ पन्त र जसप्रित बुमराह—लाई ब्रान्ड एम्बेसडर बनाएको थियो। २०२० मा यसले आईपीएलको ट्रफी प्रायोजन पनि गरेको थियो, चिनियाँ कम्पनी Vivo लाई प्रतिस्थापन गर्दै।
ड्रीम ११ ले विदेशी क्रिकेट लिगहरूमा पनि आफ्नो उपस्थितिलाई विस्तार गरेको छ। यसले क्यारिबियन प्रिमियर लिगको आधिकारिक फ्यान्टासी साझेदारको रूपमा काम गर्दै आएको छ र सुपर स्म्यासको शीर्षक प्रायोजक पनि बनेको छ। साथै अष्ट्रेलियाली घरेलु टी–२० प्रतियोगिताहरूः बिग ब्यास लिग र विमेन्स बिग ब्यास लिगमा पनि यसको प्रभाव रहेको छ। २०१८ मा यसले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलसँग पनि साझेदारी गरेको थियो।
ड्रीम ११ अन्य खेलहरूमा पनि सक्रिय छ। यसले भारतीय सुपर लिगको आधिकारिक फ्यान्टासी साझेदारको रूपमा काम गर्दै आएको छ र प्रो कबड्डी लिग तथा अन्तर्राष्ट्रिय हकी महासंघसँग पनि सम्बन्ध राख्दछ।