निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) वीरगन्ज महानगर समितिले प्लस टु तहमा अध्ययनरत ३२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।
वीरगन्जमा आयोजित एक विशेष समारोहमा नगर प्रमुख राजेशमान सिंहले छात्रवृत्तिको सिफारिस पत्र विद्यार्थीहरूलाई हस्तान्तरण गरेका हुन्।
समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख सिंहले प्याब्सनको यो पहल सराहनीय रहेको बताए। “यसले अभिभावकको आर्थिक भार कम गर्नुका साथै मेधावी विद्यार्थीहरूलाई थप हौसला प्रदान गर्छ,” उनले भने। सिंहले वीरगन्जमै गुणस्तरीय शिक्षाको सुनिश्चितता गरिए राजधानी वा अन्यत्र पढ्न जानुपर्ने बाध्यता हट्न सक्नेमा विश्वास व्यक्त गरे।
कार्यक्रम प्याब्सन वीरगन्ज महानगर समितिका अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा सम्पन्न भएको थियो। छात्रवृत्ति परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने केही विद्यार्थीहरूलाई विशेष पुरस्कारसमेत प्रदान गरिएको थियो।
पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूमा आयुष सर्राफलाई ल्यापटप, सागर साहलाई आई-ट्याब, तथा सञ्जोग महतो, निराजन प्रसाद र रोशन गुप्तालाई कलेज पोशाक प्रदान गरिएको थियो।
महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले वीरगन्जमै स्तरीय शिक्षाको वातावरण बन्दै गएको उल्लेख गर्दै यस्ता छात्रवृत्तिले विद्यार्थीको मनोबल बढाउने र वीरगन्जमै पढ्न सकिने सन्देश प्रवाह गर्ने बताए।
कार्यक्रममा प्याब्सन पर्साका जिल्ला अध्यक्ष सरोज चौधरी, इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, विभिन्न विद्यालयका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।