लायन्स क्लब अफ वीरगंज परिवारको संयोजनमा वीरगंजस्थित पवित्र पशुपतिनाथ मन्दिर परिसरमा आज सरसफाइ सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ।
लायन्स क्लब अफ वीरगंज कुटुम्ब, एक्सिलेन्स, फ्रेन्डजोन, सर्वोत्तम र सहयोगीको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्लास्टिकको प्रयोग नहुनुपर्ने र मन्दिर परिसरलाई सफा राख्नुपर्ने सन्देशसहित जनचेतनामूलक अभियान पनि सञ्चालन गरिएको थियो।
लायन्स डिस्ट्रीक ३२५ एसको वार्षिक कार्ययोजना अन्तर्गत सञ्चालन गरिएको सो कार्यक्रममा “प्लास्टिक झोला प्रयोग नगरौं” र “म मन्दिर फोहर गर्दिन” भन्ने सशक्त नाराका साथ प्लास्टिकमुक्त र सफा वातावरणप्रति जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको थियो।
कार्यक्रमका अध्यक्ष लायन नरोत्तम पाण्डेले धार्मिक तथा सार्वजनिक स्थलहरू सफा राख्नु केवल दायित्व नभई संस्कारसमेत भएको उल्लेख गर्दै भने, “हामीले सरसफाइ सामग्री मात्र हस्तान्तरण गरेका होइनौं, मन्दिर परिसर सफा राख्न प्रेरणासमेत दिएका छौं।”
उक्त कार्यक्रममा लायन बासु तिमल्सिना, कविता खड्का, श्याम गुप्ता लगायत विभिन्न क्लबका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको क्रममा पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिलाई आवश्यक सरसफाइ सामग्रीहरू हस्तान्तरण गरिनुका साथै मन्दिर परिसर सधैँ सफा राख्ने प्रतिज्ञा पनि लिइएको आयोजकले जनाएका छन्।
कार्यक्रमले स्थानीय श्रद्धालुहरूमा उत्साह जागृत गर्नुका साथै सामूहिक प्रयासबाट वीरगंजलाई हराभरा, सफा र स्वस्थ बनाउने अभियानमा थप ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ।