भारतको केरला राज्यको पलक्कड जिल्लामा एक ३८ वर्षीया महिलामा निपाह भाइरस संक्रमण पुष्टि भएको छ भने मालापुरम जिल्लाबाट एक शंकास्पद बिरामीको परीक्षण रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ।
नट्टुकलकी स्थायी बासिन्दा उक्त महिला हाल मालापुरम जिल्लाको पेरिन्थलमन्नास्थित एक निजी अस्पतालमा उपचाररत रहेको छ। उनको नमुना पुणेस्थित नेशनल इन्स्टिच्युट अफ भाइरोलोजी (NIV) मा परीक्षणका लागि पठाइएको थियो।
स्थानीय पंचायत अध्यक्ष मोहम्मद सलीम केपीका अनुसार, जिल्ला प्रमुखले उनलाई महिलामा निपाह भाइरस संक्रमण पुष्टि भएको जानकारी गराएका हुन्।
संक्रमण पुष्टि भएपछि निगरानी र नियन्त्रण उपाय कडाइ गरिएको छ। सलीमले वड नम्बर ८ सहित तीन किलोमिटर परिधिका केही अन्य वडहरूलाई आंशिक रूपमा नियन्त्रण क्षेत्र (containment zone) घोषणा गरिएको बताए।
जिल्ला स्वास्थ्य कार्यालयले संक्रमित महिला संक्रमित हुनुअघि कहाँ–कहाँ गइन्, कति मानिससँग सम्पर्कमा आइन् भन्ने विवरण संकलन गरिरहेको छ। कम्तीमा १०० जना उच्च जोखिम समूहमा परेको प्रारम्भिक अनुमान गरिएको छ।
राज्य स्वास्थ्य मन्त्री वीणा जर्जका अनुसार परीक्षण रिपोर्ट आउनुअघि नै मलापुरम, पलक्कड र कोझिकोड जिल्लामा निपाह भाइरस रोकथामका लागि आवश्यक प्रोटोकलहरू लागू गरिसकिएको थियो।
उनका अनुसार प्रत्येक प्रभावित क्षेत्रमा २६ वटा टोली खटाइएको छ जसले सम्पर्क ट्रेसिङ, क्वारेन्टिनमा रहेका व्यक्तिको लक्षण निगरानी र जनतालाई जानकारी दिने कार्य गरिरहेका छन्।
निपाह भाइरस फलफुल खाने चमेरा र सुँगुरजस्ता जनावरबाट मानिसमा सर्ने गर्दछ। यो भाइरसले मानव मस्तिष्कमा गम्भीर सुजन (encephalitis) ल्याउने गर्दछ। विश्व स्वास्थ्य संगठन (WHO) ले यसलाई महामारी निम्त्याउने क्षमताका कारण प्राथमिक जोखिम भाइरसको रूपमा वर्गीकृत गरेको छ।
हालसम्म न त निपाहको खोप उपलब्ध छ, न त विशेष उपचार। यसको लक्षणहरूमा ज्वरो, टाउको दुख्ने, खोकी, घाटी दुख्ने, बान्ता हुने र मानसिक भ्रम (disorientation) पर्नेसम्मका समस्या देखिन्छन्। मृत्यु दर ४०% देखि ७५% सम्म हुने गरेको छ।
केरलामा २०१८ यता प्रायः प्रत्येक वर्ष निपाह भाइरसको संक्रमण देखिँदै आएको छ। सन् २०१८ मा पहिलो प्रकोपमा १७ जनाको मृत्यु भएको थियो। २०१९ मा एक जना संक्रमित भए पनि निको भएका थिए। २०२१ मा १२ वर्षीय बालकको मृत्यु भयो। २०२३ मा ८ जना संक्रमित भएका थिए, जसमा दुई जनाको मृत्यु भयो भने अन्य निको भए। २०२४ मा दुईजनाको मृत्यु भयो। हालै २०२५ को मे महिनामा ४२ वर्षीया एक महिलामा संक्रमण पुष्टि भएको थियो, जसले पछि निको भइन्।
स्वास्थ्य अधिकारीहरूले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेका छन्।