आज असार १५, राष्ट्रिय धान दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। ‘धान खेती, समृद्ध किसान : स्वावलम्बी राष्ट्रको आधार’ भन्ने नारासहित विभिन्न जिल्लाहरूमा रोपाइँ कार्यक्रम आयोजना गरिएका छन्।
वि.सं. २०६१ साल मंसिर २९ गते मन्त्रिपरिषद्को निर्णयअनुसार २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो।
धान नेपालीको प्रमुख अन्न हो भने खेतीपाती नेपाली समाजको मूल पहिचान। असार १५ लाई नेपाली समाजमा ‘दही चिउरा खाने पर्व’ को रूपमा पनि लिने गरिन्छ।
खेतीपाती बाहेक अन्य पेशा व्यवसायमा लागेका नेपालीहरूले पनि आजको दिन दही चिउरा खाएर पर्व मनाउने चलन छ।
नेपाली परम्परा अनुसार शुभकार्यका लागि घरबाहिर निस्कँदा, विदेश जाँदा वा अन्य महत्वपूर्ण कामका बेला निधारमा रातो टीका लगाएर दही र अक्षता मुछ्ने चलन छ। यसलाई सगुनको रूपमा पनि लिइन्छ।
दही नेपाली संस्कृतिमा मात्र नभई वैज्ञानिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ। यसले पाचन शक्ति बढाउने, गर्मीमा शीतलता दिने, तथा पखालाजस्ता समस्यामा औषधिको काम गर्ने गुण रहेको छ।
यसैले दही चिउरा खाने संस्कार नेपाली समाजमा व्यापक रूपमा फैलिएको छ।
राष्ट्रिय धान दिवसको अवसरमा कृषि क्षेत्रको प्रवर्द्धन, कृषकहरूको सम्मान तथा स्वदेशी उत्पादनको महत्त्वलाई अझ व्यापक बनाउने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिंदै छन्।