कांग्रेस सांसद मोहम्मद आफ्ताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने फैसलामा संलग्न न्यायाधीशहरूबारे छानबिन प्रक्रिया अघि बढाउने उद्देश्यले न्यायपरिषद्को आकस्मिक बैठक बुधबार बिहान बस्ने भएको छ।
न्यायपरिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बुधबार बिहान ९ बजेका लागि आकस्मिक बैठक आह्वान गरेका हुन्। परिषद् स्रोतका अनुसार, बैठकका एजेन्डामा न्यायाधीश नियुक्ति लगायत अन्य विषय पनि समेटिए तापनि मुख्य उद्देश्य आलम प्रकरणबारे छलफल गर्न नै बैठक डाकिएको हो।
फैसलाप्रति चर्को असन्तोष
केही दिनअघि सर्वोच्च अदालतका न्यायाधीशहरूको अनौपचारिक 'शून्य समय' बैठकमा आलमलाई सफाइ दिने फैसलाप्रति कडा आपत्ति जनाइएको थियो। चौतर्फी आलोचना र प्रश्न उठेपछि प्रधानन्यायाधीश राउतले परिषद्का सदस्यहरूसँग परामर्श गर्दै आकस्मिक बैठक तय गरेका हुन्।
उक्त मुद्दामा उच्च अदालत वीरगञ्ज इजलासबाट सांसद आलमलाई सफाइ दिने फैसलामा संलग्न न्यायाधीशहरू डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्नुपर्ने मागसहित उजुरी परिसकेको छ। न्यायपरिषद्ले सो मुद्दाको मिसिल र फैसलाको प्रतिलिपि मागिसकेको छ।
डा. थारुको भूमिकाप्रति प्रश्न
परिषद् स्रोतका अनुसार, आलम प्रकरणमा विशेष रूपमा डा. खुसीप्रसाद थारुको भूमिकामाथि प्रश्न उठेको छ। उनी विशेष अदालतको वरिष्ठ न्यायाधीश हुँदा ललिता निवास प्रकरणमा तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई सफाइ दिएका थिए भने सोही इजलासले तत्कालीन सचिव दीपकुमार बस्न्यातलाई दोषी ठहर गरेको थियो।
पछि उच्च अदालत वीरगञ्जमा सरुवा भएपछि थारुको नेतृत्वमा रहेको इजलासले आलमलाई सफाइ दिएको हो। फैसलाको प्रक्रिया र समयबारे पनि शंका उत्पन्न भएको परिषद् स्रोतले जनाएको छ।
"जिल्ला अदालतमा बहस हुँदा वरिष्ठ कानून व्यवसायीहरू एक हप्ता काठमाडौंबाट वीरगञ्ज झरेका थिए," स्रोतले भन्यो, "तर उच्च अदालतमा सुनुवाइ सुरु भएको दिन नै फैसला सुनाइनु, कुनै ठूला कानुन व्यवसायीको उपस्थिति नहुनुजस्ता कुराले शंका पैदा भएको छ।"
परिषद् बैठकमा छानबिन प्रस्ताव तयार
न्यायपरिषद् स्रोतका अनुसार, न्यायाधीश थारु र महर्जनमाथि परिषद्मै तानेर छानबिन प्रक्रिया अघि बढाउने प्रस्ताव पेस गरिने तयारी भइरहेको छ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बस्ने परिषद् बैठकमा सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल, सदस्यहरू रामप्रसाद भण्डारी, दामोदर खड्का र कानुनमन्त्री अजयकुमार चौरसिया सहभागी हुनेछन्।
आजको बैठक फैसलामा संलग्न न्यायाधीशहरूको भूमिकामाथि के कस्तो निर्णय लिन्छ, त्यसतर्फ व्यापक चासो देखिएको छ।