वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले २०८२ सालको पवित्र हज यात्रामा सहभागी हुन साउदी अरब जाने नेपाली हजयात्रीहरूलाई मंगलबार काठमाडौंको काश्मिरी पञ्च ताकिया नेपाली जामे मस्जिदमा विदाइ गर्दै सफल यात्राको शुभकामना दिएका छन्।
सो अवसरमा महानगर प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण पनि मेयर सिंहसँग उपस्थित थिए। मेयर सिंहले मुस्लिम धर्मावलम्बीप्रति गहिरो सम्मान प्रकट गर्दै हज यात्रालाई “आध्यात्मिक उन्नति र शान्तिको सन्देश बोकेको पवित्र अवसर” भने।
हजयात्रीहरूलाई सम्बोधन गर्दै उनले भने, “हज यात्रा केवल धार्मिक कर्तव्य मात्र होइन, विश्वभरका मानिसबीच भाईचारा, सहिष्णुता र मेलमिलापको सन्देश बोकेको सांस्कृतिक यात्रा पनि हो। वीरगन्ज महानगरपालिकाको तर्फबाट सम्पूर्ण हजयात्रीहरूलाई सुरक्षित, सफल र फलदायी यात्राको शुभकामना व्यक्त गर्दछु।”
वीरगन्ज महानगरपालिका धार्मिक, जातीय र सांस्कृतिक विविधताले भरिपूर्ण सहर हो, जहाँ हिन्दू, मुस्लिम, बौद्ध र अन्य समुदायबीच सद्भाव कायम राख्न स्थानीय नेतृत्वको भूमिका महत्वपूर्ण मानिन्छ। मेयर सिंहको यो धार्मिक सहिष्णुताको पहललाई स्थानीय तहबाट अन्तरसमुदायिक विश्वास र सद्भाव प्रवर्द्धन गर्ने प्रयासको रूपमा हेरिएको छ।
महानगरपालिकाले मुस्लिम समुदायप्रति सम्मान, सहभागिता र सहकार्यको नीति अपनाउँदै आएको छ। मेयर सिंहका अनुसार, मुस्लिम धर्मावलम्बीहरूसँग संवाद, धार्मिक चाडपर्वमा सहभागीता र विभिन्न सामाजिक योजनामा सहकार्यमार्फत नगरले साझा पहिचान र एकता निर्माणको काम गरिरहेको छ।