वीरगंज महानगरमापलिका वडा नम्बर ११ श्रीपुर नेशनल ट्रेडिङ्ग स्थित रहेको पेन्ट उद्योगको गोदाममा लागेको भिषण आगलागी अबेर राती नियन्त्रणमा लिइएको छ ।
वीरगंज आदर्शनगर निवासी अजय साहको लक्ष्मीदीप पेन्ट तथा केमिकल उद्योगको गोदाममा साँझ ६ बजेको समयमा लागेको भिषण आगलागी करिब ६ घण्टा पश्चात अग्नी नियन्त्रक, प्रहरी नेपाली सेना र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको हो ।
प्रारम्भीक अनुसन्धानले विद्युत सर्ट सर्किट भई गोदाममा लागेको आगोले केमिकल तथा पेन्टमा आगो सल्किन गई गोदामभरि नै फैलिएको थियो । गोदाममा राखिएको पेन्ट तथा केमिकलको एकदेखि अर्को ड्रममा आगो फैलदै भयावह रुप लिएको थियो ।
आगो निभाउने सुरक्षाकर्मी लगायत वीरगंज महानगरपालिका, पोखरीया नगरपालिका, बाराको जितपुर सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, सिम्रौनगढ नगरपालिका, सिमरा विमान स्थलको बारुणयन्त्रकोसाथै बाराको अमलेखगन्ज स्थित नेपाल आयल निगम क्षेत्रीय कार्यालयको बारुणयन्त्र तथा केमिकल युक्त बरुण यन्त्र र भारत विहारको रक्सौलबाट आएको बारुणयन्त्रको संयुक्त प्रयासले आगो नियन्त्रणमा लिइएको थियो ।
बाक्लो बस्तीबीचमा रहेको उद्योगको गोदाममा आगो लागेपछि स्थानीयबासिन्दा आतंकति बनेका थिए । भने, आगो नियन्त्रणमा लिन सुरक्षाकर्मीहरुलाई पनि धौ धौ परेको थियो । आगोले भयावह रुप लिई रहेको अवस्थामा मुख्य गेटबाट मात्रै सुरक्षाकर्मीहरुले बारुणयन्त्रको पानी फ्याक्ने गरेको र केमिकल तथा पेन्टमा लागेको आगोलाई पानीले नियन्त्रणमा लिन नसकेको कारण आगो लागेको नियन्त्रणमा लिन सकिरहेको थिएन् ।
आगलागीले भायवह रुप लिदा छेउको घरहरुमा समेत आगो सल्किन सक्ने उच्च सम्भावनालाई मध्यनजर गर्दै घरहरुलाई खाली पनि गराइएको थियो ।
वीरगंज महानगरपालिकामा भयावह अवस्थाको आगलागी भएको यो दोश्रो पटक हो । पहिलो पटक वीरगंजको गण्डकस्थित सुपर ग्याँसको उद्योगमा आगलागी हुँदा आगो नियन्त्रण गर्ने केमिकल नभएको कारण मानवीयको साथसाथै ठूलै भौतिक क्षति भएको थियो तर यति हुँदा हुँदै पनि वीरगन्ज महानगरपालिकाले पाठ सिक्न सकेन् र सतर्कता अपनाउन कुनै पूर्वतयारी गर्न सकेन । जुनबेला आवश्यक पर्छ, त्यही बेला मात्रै ल्याउने बानीले गर्दा पनि वीरगन्ज महानगरपालिकामा पटक पटक आगलागीबाट ठूलै क्षति भइरहेको छ ।
मंगलबार साँझ भएको आगलागीलाई नियन्त्रण गर्न प्रशासन तथा महानगरपालिकासँग बारुणयन्त्र बाहेक अन्य कुनै उपाय नभएको कारण आगो साढे ५ घण्टासम्म लाग्दै रह्यो ।