अवैध रुपमा उत्पादन गर्दै आएको किशान एग्रोमा प्रहरीले छापा मारेको छ । वीरगंज महानगरपालिका वडा नं. ४ वीर्ता स्थित रहेको उद्योगको गोदाममा प्रहरीले छापामारी गरेको हो ।
पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल, वाणिज्य कार्यालय पर्साका निमित्त प्रमुख ओमनारायण शर्मा, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत उज्जवल बहादुर बस्नेत, कर अधिकृत नेत्र प्रसाद घिमिरे र जल्ला कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत समसुल हक मियाँको टोलीले उद्योगको गोदाममा छापामारी गरेको हो ।
छापामारीको क्रममा गोदाममा नापतौलका प्रमाणपत्र फेला नपरेको, गोदमबाट विक्री गर्न इजाजत पत्र नराखिएको, तयारी वस्तु तथा म्याद नाघेको सामाग्री एकै ठाउँमा रहेको, साइनबोर्ड नराखिएको तथा गोममा रि–प्याकिड्ड गर्ने कार्य गरिएको फेला परेको प्रशासनले जनाएको छ ।
गुणस्तर तथा नापतौल विभागका अनुसार सामान उत्पादन गर्दा उद्योगमै उत्पादन मिति तथा म्याद सकिने मिति लेबल लगायत तयारी गर्नुपर्ने कामहरु उधोगमै गर्नुपर्ने हुन्छ तर गोदाममा ल्याएर नयाँ प्याकिड्डको लेबल तयार गरि टास्ने गरिएको अनुगमनको क्रममा पाइएको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताए । उत्पादित समान र नियमले नमिल्ने गतिविधिहरु बन्द गराई तत्कालै कार्वाहीको दायरा अगाडी बढाएको उनले बताए ।
तरकारी उत्पादन गर्न किसानहरुले प्रयोग गर्ने कि–प्लेक्स केमिकल्स लिक्वीड माइक्रो नेचुरल्स फर्टिलाइजर उत्पादन गर्दै आएको किशान एग्रो केमिकल्सको उधोग वीरगंज महानगरपालिका – २४ मा छ भने, गोदम वीर्तामा रहेको छ । सोही गोदामबाट कि–प्लेक्स केमिकल्स धान, आलु, टमाटर, काउली, बन्दा, केरा, सुन्तला, स्याउ, काक्रो, बोडी, खुर्सानी जस्ता तरकारी, फलफुलमा छर्ने वस्तुहरु उत्पादन गर्दै आएका थिए ।