वीरगञ्जमा जारी गायत्री अश्वमेध महायज्ञमा सहभागी भएका दलित समुदायका अगुवाहरुले पुजा गरेका छन । छुवाछुत अन्त्य भएको सन्देश दिन उनीहरुले आदर्शनगरस्थित यज्ञस्थलमा गएर हवन गर्दै छुवाछुतको विभेद नभएको भन्दै खुशी व्यक्त गरेका छन् ।
धिरजकुमार पासवान, निला रामलगायतका दलित अगुवाहरुले आफूहरुले महायज्ञमा परिवारसहित गएर हवन र पूजापाठ गरेर आएको बताएका छन् । ‘ऐन कानूनमार्फत छुवाछुतको अन्त्य भएको र त्यस्तो विभेदलाई गैरकानुनी मानेको भएपनि व्यवहारमा दलित समुदायले अझैपनि विभेदको सामना गरिरहनु परेको अवस्था छ । अझ पूजापाठको समयमा हामीलाई धेरै घृणा गछन् उनीहरुले भने, ‘वीरगञ्जमा जारी महायज्ञमा त्यस्तो देखिएन । अन्य समुदायका मानिसहरुसँगै बसेर हवन र पुजापाठ ग¥यौ ।’
पूजापाठ र हवनमा सहभागी गराएर दलितमाथि भइरहेको विभेदलाई अन्त्य गर्न महायज्ञले महत्वपूर्ण भूमिका निर्वाह गरेको धिरज पासवानले बताए । ‘हामीले आजसम्म अन्य समुदायसँगै बसेर पूजापाठ गर्न पाएका थिएनौं, महायज्ञले त्यो अवसर दिलाएको छ । एकदमै खुशी लागेको छ,’ अर्का दलित अगुवा निला रामले भिनिन् , ‘दलित माथि विद्यमान छुवाछुतको विभेद अन्त्य गर्न यसले सकारात्मक सन्देश दिन्छ ।
महायज्ञमा दलित मात्रै नभएर मुस्लिम समुदायसमेत सहभागी भएको वीरगञ्ज महानगरपालिकाका मेयर एवं यज्ञ आयोजक समितिका संयोजक विजयकुमार सरावगीले दावी गरे । ‘दलित मात्रै होइन, मुस्लिम समुदायका मानिसहरु पनि महायज्ञमा सहभागी हुनुभएको छ,’ उनले भने, ‘गायत्री महायज्ञमा कुनै पनि प्रकारको विभेद छैन । मानव मात्रको कल्याणका लागि महायज्ञ गरिएको हो ।’
जातीय विभेद, छुवाछुत प्रथाको अन्त्य, धार्मिक सहिष्णुता कायम गरी समाज रुपान्तरणको निम्ती गायत्री अश्वमेध महायज्ञ आयोजना गरिएकोले महायज्ञमा आहुति दिन आउन भन्दै आयोजक समितिका संयोजक सरावगीले दलित समुदायलाई सार्वजनिक रुपमा आग्रह गर्दै आएका थिए ।
फागुन ६ गते नागरिक संवाद मञ्चले दलित समुदायसँग गरेको अन्र्त्क्रियामा नगर प्रमुख सरावगीले दलित समुदायलाई महायज्ञमा सहभागी हुन आग्रह गरेको मञ्चका अध्यक्ष ओम प्रकाश सर्राफ बताउँछन् ।
फागुन १९ गतेदेखि जारी महायज्ञ भोलि (बुधबार) सम्पन्न हुनेछ । महायज्ञमा निःशुल्क स्वास्थ्य शिविर, पुस्तक प्रदर्शनी समेतको व्यवस्था छ ।