२०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको सय दिन पुरा भएको छ । निर्वाचनको समय कतिपय कामहरु निर्वाचित भएकै दिन पुरा गर्ने भनेर सपना बाडदा हामी तालि बजाएका थियौ । गजबको काम हुन्छ भनेर मन फुरुग बनाएका थियौ ।
निर्वाचित भएको सय दिन सम्म केही नबोली काम गर्न दिने हाम्रो चलन पनि हो तर सय दिन पुरा हुदै गर्दा वाचा गरिएका अनुसार काम भए नभएको हामी चासो राख्ने की नराख्ने ? हामीले नै मत दिएका हाम्रो वडा सदस्य, वडाअध्यक्ष, उपमेयर तथा मेयरलाई प्रश्न गर्ने की नगर्ने ?हामीले खबरदारी गर्ने की नगर्ने ?दलहरूको चुनावी घोषणा–पत्र पढ्दा सुन्दा क्या गजबको लाग्थ्यो ।
गरिबी, बेरोजगारी छु मन्तर गर्ने रे ! भ्रष्टाचार रोक्ने, सुशासन र सदाचार कायम गर्ने वाचा गरेका छन् आ–आफ्नो घोषणा–पत्रमा भनेका थिए । तर, चुनावमा पैसाको खोला बगाएको कुरा स्वय केन्द्रिय नेताहरुले बताईरहेका छन । चुनावमा खर्च भएको पैसा भ्रष्टाचार नगरी कसरी असुल उपर हुन्छ ? शुशासन कायम गर्ने भनेका जनप्रतिनिधिहरुको भागवण्डा नमिल्दा कतिपय ठाउँमा गाउ परिषद हुन सकेको छैन ।के यसैको लागि हमी प्रण्डगर्मीमा लाईन बसेर मत दिएका हौ त ? निर्वाचनको समयमा मतदान गर्नु हाम्रो अधिकार जस्तै खबरदारी गर्नु हाम्रो जिम्मेवारी पनि हो । अव सचेत मतदाता बन्ने की ?
लोकतन्त्रको सर्वाधिक सुन्दर पक्ष भनेकै निर्वाचन हो । निर्वाचनको अर्थ वास्तवमा जनता आफ्नो मालिक आफैँ बन्नु हो । तर बिडम्बना विभिन्न बहानामा निर्वाचनलाई खर्चिलो बनाईरहेका छौ । यसले जनतालाई मालिक होइन; दास नै बनाइरहेको छ ।निर्वाचन जनताका लागि उत्सव हुनुपर्ने हो । तर, शासकहरूको स्वार्थ, नेता–कार्यकर्ताको अदुरदर्शिता र मतदाताहरूको अचेतनताको कारण जनताहरु निराश हुनु परेको छ ।
निर्वाचन आयोगले खर्चको एउटा सीमारेखा त तोकिदिएको छ । तर, त्यो सीमा रेखाभित्र अपवादमा बाहेक कुनै पार्टीको कोही उम्मेदवारहरु वसेको देखिएन ।आखिर त्यो खर्चमा कुनै न कुनै रुपमा हाम्रो पनि सहभागिता छ । निर्वाचनको समयमा उम्मेदवारको आवश्वासनमा पर्ने, उम्मेदवारसंग अपेक्षा राख्ने हाम्रो व्यवहार कहिले परिवर्तन गर्ने ? निर्वाचनको समयमा हामी सचेत भएनौ भने ५ वर्षसम्म हामी पश्चाताप गर्नु बाहेक अरु केही गर्न सक्दैनौ त्यसैले समयमै सचेत बनौ ।
हामी भर्खर वैशाखमा स्थानीय तहको निर्वाचन सकेका छौ भने आउने मंसिरमा संघ र प्रदेशको आम निर्वाच हुदैछ । देशमा निर्वाचनको माहौल शुरु भईसकेको छ । खास गरी समाजिक संजाल अनुुहार पुस्तिाकामा आफनो उम्मेदावरी घोषणा गर्ने काम भईरहेको छ । आम निर्वाचनलाई लक्षित गरी पार्टी फेरबदल गर्ने काम पनि शुरु भईसकेको छ । अनुहार उही तर पार्टी फरक हुन थालेको छ ।
पार्टी र राजनितिक दलहरुलेको तयारी संगै हामी सचेत नागरिकले पनि कस्तालाई मत दिने कस्तालाई नदिने भनेर तयारी गर्ने की ?हामी मतदाताहरूले हेक्का राख्नुपर्ने कुरा के छ भने, हाम्रो एक भोट कतै भ्रष्टाचारको लाइसेन्स त बन्दै छैन ?
अहिले चुनावमा करोडौं रूपैयाँ खर्च गर्नेले भोलि त्यसको साँवा र ब्याज नअसुली छोड्छ ?पक्कै असुल्छ । त्यो हामी जनताको नाममा आएको बजेटबाटै अयो देशलाई बिगार्ने राजनीतिक ठेकेदारहरूको हामी मतदाता पनि मतियार हुनेछौं । देश बनाउने हतियार हाम्रो हातमा छ, हतियार सही निसानामा प्रयोग गरौं; कोही कसैको मतियार नबनौं । तपाईं हाम्रो एक मतले देश सुखी र समृद्ध बन्न सक्छ । भोलि किनारामा बसेर धुरूधुरू रूँदै धारे हात लाएर नेतालाई सराप्नु भन्दा आजै सचेत बनौं ।
युवाको निरपेक्ष परिभाषा नभए पनि नेपालमा भने १८–४० वर्ष उमेर समूहका मानिसलाई जनाउँछ । नेपालमा लगभग ४०.३५ प्रतिशत जनसंख्या यस समूहमा पर्दछ । युवा उमेरभन्दा पनि जोस, जाँगर र उत्साहको अवस्था हो ।
युवा कुनै पनि मुलुकको वास्तविक पूँजी हो । कुनै पनि समाजको क्रियाशील जनशक्तिको महत्वपूर्ण र निर्णायक हिस्सा यसैमा पर्दछ । आशा र आकांक्षाका पुञ्जको रूपमा युवालाई चित्रण गरिन्छ । जागरण, आन्दोलन र क्रान्तिका स्वस्फूर्त ऊर्जाको रूपमा युवालाई लिइन्छ । युवालाई राष्ट्र निर्माणको आधार, परिवर्तनको कारक र संवाहक हो । समाज र पुस्ताको सम्बन्ध सेतु हो युवा । समृद्धि, रूपान्तरण र सशक्तीकरणका लागि सक्रिय, सुसूचित, सुविज्ञ, स्वचालित र स्वनिर्देशित युवा आवश्यक पर्दछ । मतदाता नामावली दर्ता तथा मताधिकार उपयोग गर्न युवालाई उत्प्रेरित गर्न आवश्यक छ ।
उम्मेदवारको रूपमा निर्वाचनमा उम्मेदवारी दिनका लागि युवाहरूलाई प्रोत्साहित गर्नुपर्छ । युवाले अभियन्ताको रूपमा निर्वाचन तथा मतदाता शिक्षालाई बृहत् रूपमा सञ्चालन गर्न आवश्यक छ । राजनीतिक प्रक्रियाप्रति युवा वर्गमा रहेको वितृष्णा हटाई नयाँ जोस र जाँगर ल्याउनका लागि उत्प्रेरणामूलक गतिविधिहरू सञ्चालन गर्नुपर्दछ । युवालाई नै लक्षित गरेर निर्वाचनको दौरानमा निर्वाचन आयोगले पनि पूर्व तयारीको रूपमा कार्यक्रमहरू जानकारी दिन जरूरी देखिन्छ ।
युवाहरूलाई निर्वाचन, यसको प्रक्रिया र युवाले खेल्ने भूमिकाको बारेमा स्पष्ट पार्नुपर्छ । यसो गर्दा उनीहरूले अरूलाई पनि निर्वाचनको बारेमा सूचना दिन सकून् । बाध्य भएर रोजगारीको सिलसिलामा विदेश गएका युवाहरु पनि सहि नेतृत्व छनौटका लागि जनचेतना जगाउने काममा सहयोग गर्नु पर्छ । नराम्रो भयो भन्दा पनि राम्रोलाई जिताउनका लागि लागि पर्नु पर्छ । युवा परिवर्तनका संवाहक हुन् । त्यसैले निर्वाचनमा युवा सहभागिता महत्वपूर्ण हुन्छ ।
नेपालमा सबै वर्ग र समुदायमा (महिला, जनजाति, मधेशी, मुस्लिम, अपाङ्गता भएका, दलित) युवाको बाहुल्य रहेकोले निर्वाचनमा युवाको भूमिका अपेक्षित हुन्छ । शासकीय प्रक्रिया र सामाजिक, आर्थिक एवं सांस्कृतिक रूपान्तरणमा युवाको सार्थक सहभागिताको लागि निर्वाचनमा युवा सहभागिता अभिवृद्धि गर्दै जानुपर्छ ।
अधिकारप्रति सचेत र कर्तव्यप्रति जागरुक स्वावलम्बी, सिर्जनशील, उद्यमशील र चरित्रवान युवाहरूको परिचालनबाट निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, विश्वसनीय र मितव्ययी बनाउन ठूलो योगदान पुग्दछ । त्यसैले युवाको महत्वलाई बुझेर युवालाई अगाडी बढाउन जरुरी छ ।