जिल्ला प्रशासन कार्यालय पर्साले राष्ट्रिय आर्थिक गणना २०८२ सफल बनाउन उद्योगी, व्यवसायी तथा विभिन्न संघसंस्थालाई सहयोग गर्न आग्रह गरेको छ । कार्यालयले सोमबार एक सूचना जारी गर्दै देशभर सञ्चालन हुन लागेको आर्थिक गणनामा सही तथा पूर्ण विवरण उपलब्ध गराउन अनुरोध गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलद्वारा जारी सूचनामा नेपाल सरकार र राष्ट्रिय तथ्याङ्क कार्यालयले देशका सम्पूर्ण आर्थिक एकाइहरूको वास्तविक अवस्था पहिचान गरी आर्थिक नीति निर्माण तथा विकास योजना तर्जुमाका लागि आर्थिक गणना सञ्चालन गर्न लागेको उल्लेख गरिएको छ ।
सूचनाअनुसार वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने उक्त गणनामा उद्योग, व्यापार, शैक्षिक संस्था, स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्थालगायत सेवा क्षेत्रमा कार्यरत विभिन्न संस्था तथा कार्यालयहरू समेटिनेछन् । गणनाका क्रममा खटिने गणकहरूले सम्बन्धित संस्था तथा व्यवसायबाट आवश्यक विवरण संकलन गर्ने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले आर्थिक गणनाका लागि उपलब्ध गराइने सम्पूर्ण विवरण गोप्य राखिने स्पष्ट पारेको छ । तथ्याङ्क ऐन, २०७९ अनुसार विवरण सुरक्षित राखिने तथा व्यवसाय वा संस्थाले उपलब्ध गराएको जानकारी कर प्रयोजन वा अन्य कानुनी प्रक्रियामा प्रयोग नहुने पनि सूचनामा उल्लेख गरिएको छ ।
कार्यालयले आर्थिक गतिविधि सञ्चालन गरिरहेका सबै संस्था तथा व्यवसायलाई गणनामा सहभागी भई सही र पूर्ण विवरण उपलब्ध गराउन आग्रह गर्दै यसबाट देशको आर्थिक नीति निर्माण तथा विकास योजनामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
