गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा ४१ दशमलव १४ प्रतिशत युवा निर्वाचित भएको निर्वाचन आयोगको तथ्यांक छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार २१ देखि ४० वर्ष उमेर समूहका युवा १४ हजार ४४२ अर्थात् ४१ दशमलव १४ प्रतिशत युवा निर्वाचित भएका छन् ।
प्रमुखमा ३७, उपप्रमुखमा ९५, अध्यक्षमा १०६, उपाध्यक्षमा दुई सय ३४ युवा निर्वाचित भएका हुन् । नेपालमा १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मान्ने गरिन्छ । वडाध्यक्षमा दुई हजार तीन सय १२, महिला सदस्यमा तीन हजार दुई सय ३३, दलित महिला सदस्यमा तीन हजार छ सय ६ र सदस्यमा चार हजार ८१९ निर्वाचित भएका छन् । ४१ देखि ६० वर्षका ५२ दशमलव २७ प्रतिशत, ६१ देखि ८० वर्षका ६ दशमलव ५२ प्रतिशत र ८० भन्दा माथिका शून्य दशमलव ०४८ प्रतिशत निर्वाचित भएका छन् ।
आयोगका अनुसार ४१ देखि ६० वर्ष उमेर समूहका १८ हजार तीन सय ४७ र ६१ देखि ८० वर्ष उमेर समूहका ज्येष्ठ नागरिक दुई हजार दुई सय ९१ निर्वाचित हुनुभएको आयोगले जनाएको छ । यसैगरी ८० वर्षभन्दा माथिका १७ निर्वाचित भए । वडाध्यक्ष तीन, चार दलित महिला सदस्य र १० वडा सदस्यमा निर्वाचित हुनुभएको छ ।
निर्वाचनमा कूल ३५ हजार ९७ जनप्रतिनिधि निर्वाचित भएका छन । स्थानीय तहको निर्वाचन जसरी युवाहरु निर्वाचित भएर आएका छन त्यसै अनुसार अव हुने संघिय तथा प्रदेश सांसदका लागि टिकेट पाउछन त ? आखिर राजनितिक दलहरुले किन युवाहरुलाई उम्मेदवार बनाउन चाहदैनन । युवाको निरपेक्ष परिभाषा नभए पनि नेपालमा भने १८–४० वर्ष उमेर समूहका मानिसलाई जनाउँछ । नेपालमा लगभग ४०.३५ प्रतिशत जनसंख्या यस समूहमा पर्दछ । युवा उमेरभन्दा पनि जोस, जाँगर र उत्साहको अवस्था हो ।
युवा कुनै पनि मुलुकको वास्तविक पूँजी हो । कुनै पनि समाजको क्रियाशील जनशक्तिको महत्वपूर्ण र निर्णायक हिस्सा यसैमा पर्दछ । आशा र आकांक्षाका पुञ्जको रूपमा युवालाई चित्रण गरिन्छ । जागरण, आन्दोलन र क्रान्तिका स्वस्फूर्त ऊर्जाको रूपमा युवालाई लिइन्छ । युवालाई राष्ट्र निर्माणको आधार, परिवर्तनको कारक र संवाहक हो ।
समाज र पुस्ताको सम्बन्ध सेतु हो युवा । समृद्धि, रूपान्तरण र सशक्तीकरणका लागि सक्रिय, सुसूचित, सुविज्ञ, स्वचालित र स्वनिर्देशित युवा आवश्यक पर्दछ । मतदाता नामावली दर्ता तथा मताधिकार उपयोग गर्न युवालाई उत्प्रेरित गर्न आवश्यक छ । उम्मेदवारको रूपमा निर्वाचनमा उम्मेदवारी दिनका लागि युवाहरूलाई प्रोत्साहित गर्नुपर्छ । युवाले अभियन्ताको रूपमा निर्वाचन तथा मतदाता शिक्षालाई बृहत् रूपमा सञ्चालन गर्न आवश्यक छ ।
राजनीतिक प्रक्रियाप्रति युवा वर्गमा रहेको वितृष्णा हटाई नयाँ जोस र जाँगर ल्याउनका लागि उत्प्रेरणामूलक गतिविधिहरू सञ्चालन गर्नुपर्दछ । युवालाई नै लक्षित गरेर निर्वाचनको दौरानमा निर्वाचन आयोगले पनि पूर्व तयारीको रूपमा कार्यक्रमहरू जानकारी दिन जरूरी देखिन्छ ।
युवाहरूलाई निर्वाचन, यसको प्रक्रिया र युवाले खेल्ने भूमिकाको बारेमा स्पष्ट पार्नुपर्छ । यसो गर्दा उनीहरूले अरूलाई पनि निर्वाचनको बारेमा सूचना दिन सकून् । बाध्य भएर रोजगारीको सिलसिलामा विदेश गएका युवाहरु पनि सहि नेतृत्व छनौटका लागि जनचेतना जगाउने काममा सहयोग गर्नु पर्छ । नराम्रो भयो भन्दा पनि राम्रोलाई जिताउनका लागि लागि पर्नु पर्छ ।
युवा परिवर्तनका संवाहक हुन् । त्यसैले निर्वाचनमा युवा सहभागिता महत्वपूर्ण हुन्छ । नेपालमा सबै वर्ग र समुदायमा (महिला, जनजाति, मधेशी, मुस्लिम, अपाङ्गता भएका, दलित) युवाको बाहुल्य रहेकोले निर्वाचनमा युवाको भूमिका अपेक्षित हुन्छ ।
शासकीय प्रक्रिया र सामाजिक, आर्थिक एवं सांस्कृतिक रूपान्तरणमा युवाको सार्थक सहभागिताको लागि निर्वाचनमा युवा सहभागिता अभिवृद्धि गर्दै जानुपर्छ ।अधिकारप्रति सचेत र कर्तव्यप्रति जागरुक स्वावलम्बी, सिर्जनशील, उद्यमशील र चरित्रवान युवाहरूको परिचालनबाट निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, विश्वसनीय र मितव्ययी बनाउन ठूलो योगदान पुग्दछ । त्यसैले युवाको महत्वलाई बुझेर युवालाई अगाडी बढाउन जरुरी छ ।