आज सेप्टेम्बर १० अर्थात् विश्व आत्महत्या रोकथाम दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आत्महत्या रोकथामका लागि जनचेतना अभिवृद्धि गर्ने, मानसिक स्वास्थ्यसम्बन्धी समस्या र आत्महत्याबारे खुलेर संवाद गर्ने तथा संकटमा रहेका व्यक्तिलाई आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।
यस वर्षको दिवसले आत्महत्याबारे धारणा परिवर्तन गर्दै संवाद सुरु गर्नुपर्ने सन्देश दिएको छ । आत्महत्यालाई व्यक्तिगत कमजोरीका रूपमा हेर्नेभन्दा मानसिक स्वास्थ्य र सामाजिक समस्याका रूपमा बुझ्दै समयमै सहयोग र उपचारको पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ ।
आत्महत्याका कारण व्यक्ति मात्र नभई परिवार, आफन्त र समुदायसमेत प्रभावित हुने भएकाले यसको रोकथामका लागि सबै पक्षको सहकार्य आवश्यक मानिन्छ । विशेषगरी आत्महत्याको जोखिममा रहेका व्यक्तिका कुरा ध्यानपूर्वक सुन्ने, उनीहरूलाई एक्लो महसुस हुन नदिने र आवश्यक स्वास्थ्य तथा मनोसामाजिक सेवासम्म पुर्याउने वातावरण निर्माण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
यस अवसरमा विभिन्न संघसंस्था तथा स्वास्थ्यसम्बन्धी निकायले आत्महत्या रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रम, छलफल, अन्तरक्रिया तथा अभियान सञ्चालन गर्दै आएका छन् । मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै समस्या परेका व्यक्तिसँग खुलेर संवाद गर्ने र समयमै सहयोग गर्ने संस्कृतिको विकास गर्नुपर्ने सन्देशसमेत दिइएको छ ।
‘आत्महत्याबारे कुरा गरौँ, जीवन बचाऔँ’ भन्ने भावनाका साथ मनाइने यस दिवसले आत्महत्या रोकथाम सम्भव रहेको र समयमै दिइने साथ, सहयोग तथा उपचारले महत्वपूर्ण भूमिका खेल्ने सन्देश दिन्छ ।