साउन महिना नेपाली महिलाहरूका लागि हरियाली, आस्था र सौन्दर्यको विशेष महिना मानिन्छ । यस अवधिमा हरियो तथा पहेँलो पहिरन, हरियो–रातो चुरा, पोते र मेहेन्दीले महिलाको श्रृंगारलाई अझ आकर्षक बनाउने परम्परा रहिआएको छ । विशेषगरी साउन लाग्नासाथ मेहेन्दी लगाउने चलनले देशभर उत्साह थप्ने गरेको छ ।
केही वर्षअघि भारत तथा नेपालको तराई क्षेत्रमा मात्र सीमित रहेको मेहेन्दीको प्रयोग अहिले भने हिमालदेखि तराईसम्म व्यापक बनेको छ । साउन शुरू भएसँगै सडक किनारादेखि ब्युटी पार्लरसम्म मेहेन्दी लगाउने र लगाइदिनेहरूको चहलपहल बढ्छ । युवती तथा महिलाहरूका हातमा विभिन्न आकर्षक डिजाइनका मेहेन्दी देख्नु अहिले साउनको परिचित दृश्य बनिसकेको छ ।
साउन महिनामा हरियो रंगलाई विशेष महत्व दिइन्छ । विवाहित महिलाले हरियो सारी, चुरा, पोते तथा अन्य हरिया श्रृंगार सामग्री प्रयोग गर्दा परिवारमा सुख–शान्ति कायम हुने, दाम्पत्य जीवन सुदृढ बन्ने र श्रीमान्को दीर्घायु तथा उज्ज्वल भविष्यका लागि शुभ मानिने धार्मिक विश्वास छ । त्यसैगरी रातो रंगलाई खुसी, प्रेम र सौभाग्यको प्रतीकका रूपमा लिइन्छ ।
हिन्दु धर्म र ज्योतिषशास्त्रअनुसार हरियो रंग बुध ग्रहसँग सम्बन्धित मानिन्छ । बुध ग्रहलाई बुद्धि, शिक्षा, व्यवसाय र समृद्धिको कारक ग्रहका रूपमा हेरिन्छ । त्यसैले हरियो रंग धारण गर्दा बुध ग्रह बलियो भई बुद्धि, सन्तान सुख, उन्नति र समृद्धिमा सकारात्मक प्रभाव पर्ने विश्वास रहिआएको छ ।
भगवान् शिवप्रति श्रद्धा व्यक्त गर्न पनि साउनभर हरियो रंग धारण गर्ने चलन छ । प्रकृतिसँग गहिरो सम्बन्ध भएका शिवलाई हरियाली प्रिय हुने धार्मिक मान्यता रहेको छ । यही विश्वासका कारण महिलाहरू साउन महिनाभर हरियो चुरा, पोते, सारी तथा मेहेन्दी लगाएर शिवको कृपा प्राप्त हुने कामना गर्छन् ।
धार्मिक ग्रन्थहरूमा महिलाका सोह्र श्रृंगारको उल्लेख गरिएको छ, जसमा मेहेन्दी पनि महत्वपूर्ण श्रृंगारका रूपमा समावेश छ । त्यसैले मेहेन्दीलाई केवल सौन्दर्य बढाउने साधन मात्र नभई प्रेम र मंगलको प्रतीकका रूपमा पनि लिने गरिन्छ ।
विवाह, व्रत, पर्व तथा अन्य शुभ अवसरमा मेहेन्दी लगाउने परम्पराले परिवारमा प्रेम, आत्मीयता र सुख–समृद्धिको सन्देश दिने विश्वास छ । कतिपय लोकविश्वासअनुसार हात वा खुट्टामा लगाइएको मेहेन्दीको रंग जति गाढा हुन्छ, प्रेम र सम्बन्ध पनि त्यति नै प्रगाढ हुने भनाइ प्रचलित छ ।
परम्परागत रूपमा असार महिनामा खेतबारीका मुख्य काम सम्पन्न भएपछि फुर्सदको समयमा महिलाहरूले हात–खुट्टा सजाउन र शरीरलाई आकर्षक बनाउन मेहेन्दी लगाउने चलन शुरू भएको मानिन्छ । यही परम्परा समयसँगै सांस्कृतिक पहिचानको महत्वपूर्ण अंश बनेर आजसम्म निरन्तर चलिआएको छ । एजेन्सीहरूको सहयोगमा